अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक तस्बिर तथा भिडियो निर्माण र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
पछिल्लो समय एआई प्रविधिको सहायताले वास्तविकजस्तै देखिने कृत्रिम तस्बिर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै कार्यालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार विशेष गरी पाटेबाघ, चितुवालगायत संरक्षित तथा संवेदनशील वन्यजन्तुसँग सम्बन्धित वास्तविकताभन्दा फरक दृश्य समेटिएका कृत्रिम तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा फैलिने गरेको पाइएको छ ।
यस्ता सामाग्रीले वन्यजन्तुको वास्तविक अवस्था, बासस्थान र व्यवहारबारे गलत सूचना प्रवाह गर्नुका साथै मानव–वन्यजन्तु सहअस्तित्वबारे नकारात्मक धारणा विकास गर्न सक्ने खड्काले बताए । उनका अनुसार भ्रामक सामाग्रीका कारण सर्वसाधारणमा अनावश्यक डर र त्रास समेत उत्पन्न हुन सक्छ ।
वन्यजन्तुसम्बन्धी गलत सूचना फैलिन नदिन त्यस्ता सामाग्री निर्माण, प्रकाशन तथा प्रसारण नगर्न कार्यालयले आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालमा कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्नुअघि त्यसको आधिकारिकता, सत्यता र सम्भावित प्रभावबारे यकिन गर्न पनि अनुरोध गरेको छ ।
वन्यजन्तु तथा जैविक विविधताको संरक्षणमा सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै कार्यालयले संरक्षणसम्बन्धी गलत सूचना फैलिन नदिन सहयोग गर्न जिल्लावासीलाई अपिल गरेको छ ।
आईसीटी समाचार