काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले अनलाइन आवेदन प्रणालीमा आएको प्राविधिक समस्याका कारण कोरिया रोजगारीका लागि आवेदन प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ । साथै, प्रभावित आवेदकलाई सहजता प्रदान गर्न आवेदन दिने अन्तिम म्याद २०८३ साउन १८ गतेसम्म विस्तार गरिएको छ ।
शाखाले जारी गरेको अत्यावश्यक सूचनाअनुसार अत्यधिक सेवाग्राहीको चापका कारण केन्द्रीय सर्भरमा समस्या देखिएको हो । त्यसपछि साउन ११ गते साँझ ५ बजेदेखि अनलाइन दरखास्त फाराम भर्ने (डाटा इन्ट्री) तथा आवेदन पेश गर्ने सेवा अवरुद्ध भएको जनाएको छ ।
विभागका अनुसार प्राविधिक टोलीले सर्भरको समस्या समाधान गरी प्रणाली पुन: सञ्चालनमा ल्याउन निरन्तर काम गरिरहेको छ । प्रणाली पूर्ण रूपमा सामान्य अवस्थामा नआएसम्म अनलाइन आवेदन सेवा बन्द रहनेछ ।
आवेदन दिन इच्छुक योग्य उम्मेदवार कुनै पनि कारणले अवसरबाट वञ्चित नहून् भन्ने उद्देश्यले आवेदनको अन्तिम म्याद थप गरिएको शाखाले स्पष्ट पारेको छ । प्राविधिक समस्या समाधान भएपछि अर्को सूचना जारी गर्दै आवेदन प्रणाली पुन: सञ्चालनमा आएको जानकारी गराइने पनि सूचनामा उल्लेख छ ।
ईपीएस कोरिया शाखाले सेवाग्राहीलाई आधिकारिक वेबसाइट epsnepal.gov.np मार्फत नियमित रूपमा अद्यावधिक सूचना हेर्न आग्रह गरेको छ । साथै, आवेदन प्रणाली वा अन्य जानकारी आवश्यक परे सूचना अधिकारीको सम्पर्क नम्बर ९७६६६३६५७१ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
आईसीटी समाचार