काठमाडौं । बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत कोशी प्रदेशका पाँच उत्कृष्ट स्टार्टअप टोली अन्तिम चरणका लागि छनोट भएका छन् । बुटक्याम्प, मेन्टरिङ सत्र, स्टार्टअप विकास प्रक्रिया र प्रतिस्पर्धात्मक पिच मूल्यांकनपछि यी टोलीहरू फाइनल क्लोजिङ डेका लागि चयन भएका हुन् ।
छनोट भएका टोलीहरूले नवीन सोच, बजारमा विस्तारको सम्भावना, समस्या समाधान गर्ने क्षमता र आफ्ना अवधारणालाई प्रभावकारी व्यवसायमा रूपान्तरण गर्ने प्रतिबद्धता देखाएका छन् ।
अब उनीहरूले काठमाडौंमा आयोजना हुने अन्तिम कार्यक्रममा उद्योग विज्ञ, लगानीकर्ता तथा स्टार्टअप इकोसिस्टमका अगुवासामु आफ्नो व्यवसायिक योजना प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
फाइनल चरणमा पुग्ने टोलीहरूमा लोकल बजार (Local Bazaar), मेडिक्याब टेक्नोलोजिज प्रा.लि. (Medicab Technologies Pvt. Ltd.), माइन्ड ब्रिज (Mind Bridge), सफारी यात्री (Safari Yatri) र भोल्टभी (VoltV) रहेका छन् ।
आयोजकले कार्यक्रममा सहभागी सबै स्टार्टअप प्रति आभार व्यक्त गर्दै उनीहरूले प्रस्तुत गरेका विचार, सिर्जनशीलता र उद्यमशील भावना प्रशंसनीय रहेको जनाएको छ ।
सीमित टोली मात्र अन्तिम चरणमा पुगेपनि आईसीटी फाउन्डेसन नेपाल इकोसिस्टममार्फत आगामी दिनमा अन्य स्टार्टअपलाई समेत सहयोग र अवसर प्रदान गरिने बताइएको छ ।
BIS कार्यक्रमले नेपालका नयाँ उद्यमलाई आवश्यक मार्गदर्शन, मेन्टरिङ, व्यवसाय विकास सहयोग र लगानीकर्तासँग जोड्ने उद्देश्य राख्दै आएको छ । अब छनोट भएका पाँच टोलीले ग्रान्ड क्लोजिङ डेमा आफ्नो नवप्रवर्तन र व्यवसायिक सम्भावना प्रस्तुत गर्नेछन् ।
आईसीटी समाचार