कीवर्डहरू -

प्लस टु सकिएका युवादेखि डेभलपरसम्म, ‘Hack4Impact’ ले जोड्यो नयाँ पुस्ताका टेक प्रतिभा

प्लस टु सकिएका युवादेखि डेभलपरसम्म, ‘Hack4Impact’ ले जोड्यो नयाँ पुस्ताका टेक प्रतिभा

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा व्यावहारिक तथा समस्या समाधानमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले कुपण्डोलस्थित PCPS कलेज (Patan College for Professional Studies) ले आयोजना गरेको तीनदिने राष्ट्रिय सामाजिक ह्याकाथन ‘Hack4Impact’ सम्पन्न भएको छ ।

साउन २० देखि २२ गतेसम्म सञ्चालन भएको ह्याकाथन NEB Result & News को सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रममा हालै प्लस टु उत्तीर्ण गरेका विद्यार्थी तथा नेपालभरका उदीयमान डेभलपर, डिजाइनर, उद्यमी र सिर्जनशील युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तीन दिनसम्म सहभागीहरूले ७२ घण्टाको अवधिमा वास्तविक सामाजिक तथा आर्थिक समस्याको पहिचान गर्दै त्यसका सम्भावित प्रविधिमैत्री समाधान विकास, परीक्षण र प्रस्तुति गरेका थिए ।

चार चरणमा समाधान खोज्दै युवा
कार्यक्रममा सहभागीलाई प्राविधिक, व्यावसायिक तथा डिजाइनसम्बन्धी फरक क्षमता भएका व्यक्तिहरूलाई एउटै टोलीमा समेटेर काम गर्ने अवसर दिइएको थियो ।

ह्याकाथनको सुरुवात टिम निर्माण र समस्या पहिचानबाट भएको थियो । त्यसपछि सहभागीले नेपाली समाजमा देखिएका वास्तविक चुनौतीका आधारमा समाधानको अवधारणा विकास गरेका थिए ।

अवधारणालाई कार्यरूप दिन सहभागीले प्रोटोटाइप निर्माण गरेका थिए । यस क्रममा विभिन्न आईटी कम्पनीका सफ्टवेयर इन्जिनियर, यूआई/यूएक्स डिजाइनर तथा प्रडक्ट म्यानेजरबाट प्रत्यक्ष मेन्टरसिप समेत पाएका थिए ।

अन्तिम चरणमा टोलीहरूले आफ्ना उत्पादन तथा व्यवसायिक अवधारणा उद्योग विज्ञ, लगानीकर्ता र निर्णायकमण्डलसमक्ष प्रस्तुत गरेका थिए ।

‘विविध टोलीबाट बलियो समाधान’
कार्यक्रमको उद्घाटन सत्रमा कम्प्युटर एसोसिएसन नेपाल (CAN Federation) का कार्यवाहक अध्यक्ष तथा One Cover का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले प्रविधिमार्फत सामाजिक समस्या समाधान गर्दा बहु-विषयगत टोलीको भूमिका महत्वपूर्ण हुने बताए ।

उनका अनुसार प्राविधिक ज्ञानसँगै व्यवसाय, डिजाइन र सिर्जनशील क्षेत्रका फरक दृष्टिकोणलाई एउटै टोलीमा ल्याउँदा नेपाली समाजका जटिल समस्याका थप व्यावहारिक र दिगो समाधान पहिचान गर्न सकिन्छ ।

उनले युवाहरूले आफ्नो करियरको प्रारम्भिक चरणदेखि नै प्रविधिलाई सामाजिक रूपान्तरणको माध्यमका रूपमा प्रयोग गर्न सिक्नुपर्नेमा जोड दिए ।

‘ह्याकाथन प्रतिस्पर्धा मात्र होइन’
PCPS कलेजकी चीफ ग्रोथ अफिसर कृपा श्रेष्ठले Hack4Impact लाई केवल प्रतिस्पर्धाका रूपमा नहेरी युवाको क्षमता विकास र नवप्रवर्तनलाई व्यवहारमा उतार्ने मञ्चका रूपमा विकास गर्न खोजिएको बताइन् ।

उनका अनुसार उद्योग क्षेत्रका विज्ञबाट मेन्टरसिप, टोलीमा काम गर्ने अभ्यास र वास्तविक समस्यामा आधारित परियोजनामार्फत नयाँ पुस्ताका उद्यमी तथा नवप्रवर्तनकर्ता तयार पार्ने उद्देश्य कार्यक्रमको हो ।

विजेतालाई ५० हजारसम्म नगद पुरस्कार
ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद तथा अन्य अवसरसहित पुरस्कृत गरिएको छ । प्रथम हुने टोलीले ५० हजार रुपैयाँ नगदसहित लक्जरी भिल्ला भ्याकेसन र प्रत्यक्ष स्टार्टअप मेन्टरसिप प्राप्त गर्नेछ ।

दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ नगद, लक्जरी भिल्ला भ्याकेसन तथा पोर्टफोलियो अभिवृद्धिसम्बन्धी अवसर पाउने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी सबैलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उद्योग क्षेत्रका विज्ञसँग नेटवर्किङ र व्यावहारिक अनुभव हासिल गर्ने अवसर समेत दिइएको थियो ।

टेक्नोलोजी बाहिरका सिर्जनाकर्मी पनि सहभागी
Hack4Impact को अर्को विशेषता प्रविधि विकासमा प्रत्यक्ष संलग्न नभएका युवालाई पनि कार्यक्रममा समेट्नु थियो । प्राविधिक लेखक, ब्लगर, भिडियोग्राफर तथा भिजुअल क्रिएटरहरूलाई सहभागी गराएर नेपालको नवप्रवर्तन तथा प्रविधि पारिस्थितिकी प्रणालीका गतिविधिलाई अभिलेखीकरण र सार्वजनिक गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।

ह्याकाथनले नयाँ पुस्ताका युवालाई केवल कोड लेख्ने वा प्रविधि निर्माण गर्ने भूमिकामा सीमित नगरी समस्या पहिचान, उत्पादन विकास, व्यवसायिक सोच, प्रस्तुति र सञ्चारसम्म जोड्ने प्रयास गरेको देखिन्छ ।

नेपालको डिजिटल अर्थतन्त्र विस्तार हुँदै गएको अवस्थामा यस्ता व्यावहारिक कार्यक्रमले कलेज तहबाटै युवालाई वास्तविक समस्यासँग जोडेर नवप्रवर्तनको संस्कृति विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।