काठमाडौं । प्रविधिको तीव्र विकाससँगै सिंगापुरले रोबोट र कृत्रिम बुद्धिमत्तामा आधारित स्वचालित प्रणालीलाई दैनिक जनजीवनसँग जोड्ने अभियान तीव्र पारेको छ । सार्वजनिक यातायात, विमानस्थल, आवासीय भवन, सरसफाइ, सामान ढुवानी र सुरक्षा व्यवस्थापनसम्म रोबोटको प्रयोग विस्तार गर्दै मुलुकलाई स्वचालित प्रविधिको केन्द्र बनाउने प्रयास भइरहेको छ ।
यसै अभियानअन्तर्गत सिंगापुरको पर्यटकीय टापु सेन्टोसामा सन् २०२७ को सुरुदेखि स्वचालित मिनीबस सञ्चालन गर्ने तयारी गरिएको छ । पर्यटक तथा आगन्तुकले राइड–हेलिङ एप प्रयोग गरेर चालकविहीन प्रविधियुक्त बस बुक गर्न सक्नेछन् । ती बसले टापुका यातायात केन्द्र, होटल तथा प्रमुख पर्यटकीय गन्तव्यसम्म यात्रुलाई पुर्याउनेछन् ।
सेन्टोसा विकास निगम र राइड–हेलिङ कम्पनी टाडाबीचको सहकार्यमा सञ्चालन हुने यो सेवा चीनको ग्वाङ्झाउमा मुख्यालय रहेको वेराइड कम्पनीले विकास गरेका स्वचालित बसमार्फत उपलब्ध गराइनेछ ।
आठ जनासम्म यात्रु अट्ने क्षमताका यी बसमा पैदलयात्री तथा अन्य सवारी साधन पहिचान गर्ने प्रविधि जडान गरिएको छ । बाटोमा अवरोध देखिए गति घटाउने र आवश्यकताअनुसार दिशा परिवर्तन गर्ने क्षमता पनि बसमा रहेको छ ।
हालै गरिएको परीक्षणमा वर्षा भइरहेका बेला समेत बसले सहज रूपमा यात्रा गरेको थियो । बसभित्र जडान गरिएको स्क्रिनमा आसपासका सवारीसाधन र पैदलयात्रीको अवस्थालाई वास्तविक समयमा त्रिआयामिक दृश्यका रूपमा हेर्न सकिन्छ ।
सेन्टोसामा स्वचालित यातायातको प्रयोग नयाँ भने होइन । सन् २०२५ जुलाईदेखि नै वेराइडका सवारीसाधनलाई रिसोर्ट्स वर्ल्ड सेन्टोसाको शून्य दशमलव ४९ वर्ग किलोमिटर क्षेत्रभित्र परीक्षण तथा सञ्चालनको अनुमति दिइएको थियो । आगामी परीक्षणले टापुको पश्चिमी क्षेत्रलाई समेत समेट्नेछ भने सफलताका आधारमा अन्य क्षेत्रमा पनि सेवा विस्तार गरिनेछ ।
प्रारम्भिक चरणमा प्रत्येक बसमा तालिमप्राप्त सुरक्षा कर्मचारी राखिनेछ । वेराइडका अन्तर्राष्ट्रिय व्यापार निर्देशक निकोलस टेका अनुसार आवश्यक परीक्षण पूरा गरी प्रविधिको सुरक्षित सञ्चालन सुनिश्चित भएपछि भविष्यमा पूर्ण चालकविहीन सेवा दिन सकिनेछ ।
सेन्टोसा विकास निगमका प्रमुख कार्यकारी अधिकृत थियेन क्वि एन्गले टापुलाई नयाँ यातायात प्रविधिको परीक्षण र विकास गर्ने ‘जीवित प्रयोगशाला'का रूपमा विकास गर्न खोजिएको बताएका छन् ।
रोबोटको प्रयोग यातायातमा मात्र सीमित छैन । सिंगापुरका विभिन्न क्षेत्रमा सामान ओसारपसार, सरसफाइ, निर्माण तथा सुरक्षा गस्तीका काममा पनि स्वचालित प्रणाली परीक्षण भइरहेका छन् ।
पङ्गगोल डिजिटल जिल्लामा सामान ढुवानी, सरसफाइ र सुरक्षाका लागि रोबोट परिचालन गर्ने अभ्यास भइरहेको छ भने जुराङ इनोभेसन जिल्लामा स्वचालित निर्माण उपकरणको परीक्षण भइरहेको छ । समुद्री क्षेत्रमा समेत स्वचालित जहाज र ड्रोनको प्रयोग विस्तार गर्ने प्रयास जारी छ ।
सार्वजनिक सेवामा रोबोटको उपस्थिति देखिन थालिसकेको छ । यस वर्ष अगस्टको अन्त्यदेखि सेप्टेम्बरको मध्यसम्म लिटिल इन्डिया एमआरटी स्टेसनमा मानवरूपी रोबोट परिचालन गरिएको थियो । एक दशमलव २७ मिटर अग्लो र हरियो भेस्ट लगाएको उक्त रोबोटले यात्रुलाई आवश्यक गन्तव्य र बाटो पहिचान गर्न सहयोग गरेको थियो ।
चाङ्गी विमानस्थलमा सरसफाइका लागि रोबोट प्रयोग गरिँदै आएको छ । वृद्धवृद्धाको बसोबास बढी भएका आवासीय भवनमा पनि स्वचालित रोबोटमार्फत दैनिक उपभोग्य सामग्री पुर्याउने व्यवस्था गरिएको छ । सामाजिक सेवा संस्था लायन्स बेफ्रेन्डर्सले परिचालन गरेका रोबोटले लिफ्ट आफैँ प्रयोग गरेर खाना, औषधि तथा अन्य आवश्यक सामग्री सम्बन्धित व्यक्तिको घरसम्म पुर्याउने गरेका छन् ।
यसैगरी जोखिमपूर्ण सुरक्षा कार्यमा सुरक्षाकर्मीको निर्भरता घटाउन सिंगापुरले मानवरूपी रोबोटको विकास र प्रयोगलाई प्राथमिकता दिएको छ । गत सेप्टेम्बरमा सञ्चालनमा ल्याइएको होम टिम ह्युमनोइड रोबोटिक्स सेन्टरमा यस्ता रोबोटलाई विभिन्न चुनौतीपूर्ण कामका लागि तालिम दिइन्छ ।
विस्फोट भएका स्थानको अनुसन्धान, खतरनाक तरल पदार्थको व्यवस्थापन र कारागारभित्र प्रतिबन्धित वस्तुको खोजीजस्ता काममा रोबोट परिचालन गर्न सकिने गरी तालिम दिइँदैछ ।
जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मीलाई प्रत्यक्ष खटाउनुपर्ने अवस्था कम गर्नु यसको मुख्य उद्देश्य हो । सन् २०२८ सम्ममा सुरक्षाकर्मीसँगै वास्तविक कार्यक्षेत्रमा काम गर्न सक्ने पहिलो मानवरूपी रोबोट परिचालन गर्ने सिंगापुरको लक्ष्य छ ।
सिंगापुर आर्थिक विकास बोर्डले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनअनुसार मुलुकमा रोबोटिक्ससम्बन्धी अनुसन्धान, विकास, उत्पादन र व्यावसायिक प्रयोगमा संलग्न ३०० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले उत्पादन, स्वास्थ्य सेवा, आतिथ्य, महत्त्वपूर्ण पूर्वाधार, यातायात तथा आपूर्ति व्यवस्थापनलगायत क्षेत्रमा नयाँ प्रविधिको विकास र प्रयोग गरिरहेका छन् ।
रोबोटलाई मानिसको विकल्पका रूपमा मात्र नभई दैनिक काममा सहयोगी बनाउने सिंगापुरको रणनीतिले स्वचालित प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्याउने देखिन्छ । यातायातदेखि सार्वजनिक सुरक्षासम्म रोबोटको विस्तारले भविष्यमा सहर सञ्चालन र सार्वजनिक सेवा प्रवाहको स्वरूप नै परिवर्तन गर्न सक्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार