काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि उद्यमी इलन मस्कले विश्वकै चर्चित चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा काम गर्न प्रस्ताव गरेका छन् ।
मस्कले सामाजिक सञ्जाल एक्समार्फत हुआङलाई आफ्नो कम्पनीमा आबद्ध हुन प्रस्ताव गरेका हुन् । हुआङजस्ता व्यक्तिलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने मस्कले बताएका छन् ।
बीबीसीका अनुसार वित्तीय समाचार पोर्टल जिरोहेजले हुआङको भविष्यबारे गरेको एक पोस्टमा प्रतिक्रिया दिँदै मस्कले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन् ।
यसअघि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी गर्दै आएका गेविन बेकरले एनभिडियाको सञ्चालक समितिलाई हुआङलाई पदबाट हटाउने निर्णय गर्नुअघि स्वतन्त्र छानबिनको नतिजा पर्खन सुझाव दिएका थिए ।
बेकरको उक्त धारणामा मस्कले पनि समर्थन जनाउँदै ‘१००’ को इमोजीमार्फत प्रतिक्रिया दिएका थिए । एनभिडिया र मस्कबीच यसअघि पनि सहकार्यका विषयमा समझदारी भएको थियो ।
हुआङको नेतृत्वमा रहेको एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको एआई कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो ।
त्यस्तै, सन् २०२५ अक्टोबरमा सीएनबीसीसँगको अन्तर्वार्तामा हुआङले मस्कका परियोजनामा थप लगानी नगरेकोमा आफूलाई पछुतो लागेको बताएका थिए । उनले मस्क संलग्न अधिकांश परियोजनामा सहभागी हुन आफ्नो कम्पनी इच्छुक रहेको धारणा समेत व्यक्त गरेका थिए ।
आईसीटी समाचार