कीवर्डहरू -

एन्ड्रोइडबाट गुगल असिस्टेन्ट हटाउँदै गुगल, जेमिनाई बन्दैछ नयाँ सहायक

एन्ड्रोइडबाट गुगल असिस्टेन्ट हटाउँदै गुगल, जेमिनाई बन्दैछ नयाँ सहायक

काठमाडौं । एन्ड्रोइड फोनमा प्रयोगकर्ताको आवाज सुनेर विभिन्न काम गरिदिने गुगलको पुरानो डिजिटल सहायक अब बिस्तारै विस्थापित हुने भएको छ । गुगलले ‘गुगल असिस्टेन्ट’ लाई हटाएर त्यसको स्थानमा आफ्नो एआई च्याटबट ‘जेमिनाई’लाई अघि बढाउने तयारी गरेको छ ।

कम्पनीले आगामी ५ सेप्टेम्बरदेखि योग्य डिभाइसमा गुगल असिस्टेन्ट हटाउने प्रक्रिया सुरु गर्ने जानकारी प्रयोगकर्तालाई दिन थालेको छ । यो परिवर्तन एकैपटक नभई क्रमश: लागू हुने भएकाले पूर्ण रूपमा कार्यान्वयन हुन केही साता लाग्न सक्ने गुगलले जनाएको छ ।

कुन डिभाइसमा लागू हुन्छ ?
सबै एन्ड्रोइड उपकरणबाट असिस्टेन्ट हटाइने छैन । जेमिनाई चलाउन आवश्यक न्यूनतम प्राविधिक क्षमता भएका र जेमिनाई उपलब्ध रहेका बजारमा प्रयोग भइरहेका एन्ड्रोइड फोनमा यो परिवर्तन लागू हुनेछ ।

फोनसँग जोडिने जेमिनाई सपोर्ट गर्ने हेडफोनलगायतका केही सहायक उपकरणमा पनि यसको असर पर्न सक्छ । योग्य डिभाइसमा पुरानो असिस्टेन्ट हटेपछि प्रयोगकर्ताले आवाजमार्फत गरिने विभिन्न कामका लागि जेमिनाई प्रयोग गर्नुपर्नेछ । तर, गुगलका सबै स्मार्ट डिभाइसमा तत्काल परिवर्तन हुने छैन ।

गुगल होम र टिभीमा भने असिस्टेन्ट कायमै
गुगलले हालका लागि गुगल टिभी, गुगल होम र स्मार्ट डिस्प्लेजस्ता उपकरणमा गुगल असिस्टेन्ट हटाउने योजना नरहेको स्पष्ट पारेको छ । त्यस्तै, निकै पुराना वा कम क्षमताका एन्ड्रोइड फोनमा पनि पुरानो असिस्टेन्ट रहनेछ ।

२ जीबीभन्दा कम र्‍याम भएका तथा एन्ड्रोइड ९ वा त्यसभन्दा पुरानो संस्करणमा चल्ने फोनमा आधारभूत कामका लागि असिस्टेन्टको पुरानो संस्करण यथावत् रहने बताइएको छ ।

एन्ड्रोइड अटोमा पनि असर
गाडीमा गुगल असिस्टेन्टको प्रयोग गर्ने प्रयोगकर्ताका लागि पनि यो परिवर्तन महत्वपूर्ण हुनेछ । गाडीको आफ्नै सिस्टममा पहिले नै जोडिएका गुगल सेवामा असिस्टेन्ट उपलब्ध रहनेछ ।

तर, मोबाइल फोनबाट एन्ड्रोइड अटोमार्फत गाडीसँग कनेक्ट गर्ने अवस्थामा भने गुगल असिस्टेन्ट उपलब्ध नहुने भएको छ । यसले फोनमा आधारित एन्ड्रोइड अटो प्रयोग गर्ने चालकलाई जेमिनाईतर्फ स्थानान्तरण हुनुपर्ने अवस्था सिर्जना गर्नेछ ।

जेमिनाई प्रयोग गर्न बाध्य भने पारिने छैन
गुगलले असिस्टेन्ट हटाए पनि प्रयोगकर्तालाई जेमिनाई प्रयोग गर्न अनिवार्य भने गरेको छैन । नयाँ एआई सहायक प्रयोग गर्न चाहनेले गुगल प्ले स्टोरबाट जेमिनाई एप डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् ।

जेमिनाई प्रयोग गर्न नचाहने प्रयोगकर्ताले त्यसलाई प्रयोग नगर्न पनि सक्छन् । तर, योग्य डिभाइसबाट पुरानो गुगल असिस्टेन्ट हटेपछि पहिले जस्तै असिस्टेन्ट सेवा भने उपलब्ध रहने छैन ।

गुगलको यो कदमले कम्पनीले परम्परागत भ्वाइस असिस्टेन्टभन्दा एआईमा आधारित डिजिटल सहायकलाई आफ्नो आगामी उत्पादन रणनीतिको केन्द्रमा राख्न थालेको संकेत गरेको छ ।