कीवर्डहरू -

गुगल प्लेले ल्यायो उमेर पुष्टि गर्ने नयाँ प्रणाली, विश्वभर विस्तारको तयारी

गुगल प्लेले ल्यायो उमेर पुष्टि गर्ने नयाँ प्रणाली, विश्वभर विस्तारको तयारी

काठमाडौं । गुगलले एन्ड्रोइड एप विकासकर्ताहरूलाई उमेर पुष्टि (Age Verification) सम्बन्धी कानुनी आवश्यकताहरू पूरा गर्न सहयोग गर्ने Google Play Age Signals API नामक नयाँ प्रणाली सार्वजनिक गरेको छ । यो सुविधा हाल ब्राजिलमा परीक्षण भइरहेको छ भने आगामी अगस्टको मध्यदेखि अष्ट्रेलिया र क्यानडामा विस्तार गरिनेछ । त्यसपछि यसै वर्षभित्र विश्वव्यापी रूपमा लागू गर्ने योजना रहेको गुगलले जनाएको छ ।

Age Signals प्रणालीमार्फत अब अभिभावकहरूले आफ्नो वा आफ्ना बालबालिकाको वास्तविक जन्ममिति वा ठ्याक्कै उमेर साझा नगरी उमेर समूह (Age Group) मात्र एप विकासकर्तासँग साझा गर्न सक्नेछन् । यसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्दै एप विकासकर्तालाई उमेर पुष्टि सम्बन्धी नियमहरूको पालना गर्न सहज बनाउनेछ ।

अभिभावकले बालबालिकाको उमेर समूह साझा गरेपछि Age Signals API प्रयोग गर्ने एपहरूले स्वत: उमेरअनुकूल सामाग्री, सुविधा र सुरक्षा सेटिङ उपलब्ध गराउनेछन् । यो सुविधा Google Family Link एपमार्फत प्रयोग गर्न सकिनेछ ।

गुगलका अनुसार सबै एपमा एउटै नियम लागू गरिने छैन । बरु, विकासकर्ताहरूले आफ्ना प्रयोगकर्ताको उमेर समूहअनुसार सामाग्री, फिचर र सेटिङ अनुकूल बनाउन सक्नेछन् । कम्पनीले Age Signals मार्फत प्राप्त हुने भरपर्दो उमेर संकेतका आधारमा विकासकर्ताले सुरक्षित र उमेरअनुकूल डिजिटल अनुभव प्रदान गर्न सक्ने जनाएको छ ।

पछिल्लो एक वर्षमा विभिन्न देश तथा अमेरिकाका केही राज्यहरूले उमेर पुष्टि सम्बन्धी कडा कानुन लागू गरेपछि प्लेटफर्म सञ्चालक र एप विकासकर्तामाथि प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्ने जिम्मेवारी थप बढेको छ । यस्तो अवस्थामा Google Play Age Signals API ले गोपनीयता कायम राख्दै उमेरअनुकूल सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।