काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियामा आफ्नो डाटा सेन्टर सञ्चालनलाई आवश्यक पानीको व्यवस्था गर्न १६ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनीले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा स्थानीय समुदाय र औद्योगिक क्षेत्रलाई समेत लाभ पुग्ने गरी साझा पानी पूर्वाधार निर्माण गर्ने घोषणा गरेको हो ।
गुगलको यो लगानीबाट निर्माण हुने पूर्वाधारले पोर्ट डिक्सन क्षेत्रमा प्रस्तावित डाटा सेन्टर सञ्चालनमा सहयोग पुर्याउनुका साथै स्थानीय बासिन्दाका लागि स्वच्छ पानीको उपलब्धता बढाउने अपेक्षा गरिएको छ ।
प्रस्तावित परियोजनाअन्तर्गत निर्माण हुने पानी प्रशोधन केन्द्रले दैनिक ६ करोड ५० लाख लिटर प्रशोधित पिउने पानी उत्पादन तथा आपूर्ति गर्न सक्ने क्षमता राख्नेछ । यसबाट सर्वसाधारणसँगै स्प्रिङहिल औद्योगिक पार्कमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर परिसरलाई पनि पानी उपलब्ध हुनेछ ।
परियोजना सम्पन्न भएपछि निर्माण गरिएको पूर्वाधारको स्वामित्व नेगेरी सेम्बिलान राज्यको सरकारी सम्पत्ति व्यवस्थापन गर्ने वैधानिक निकाय मेन्टेरी बेसर नेगेरी सेम्बिलान (निगमित)सँग रहनेछ । यसले उक्त संरचना निजी कम्पनीको स्वामित्वमा नभई राज्यको सम्पत्तिका रूपमा सञ्चालन हुने व्यवस्था सुनिश्चित गर्नेछ ।
पानी पूर्वाधारमा लगानीसँगै गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थानीय स्तरमा नयाँ कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।
डाटा सेन्टर सञ्चालनका लागि ठूलो परिमाणमा पानी र ऊर्जा आवश्यक पर्ने भएकाले गुगलले स्थानीय पूर्वाधार विकासलाई पनि आफ्नो लगानी योजनासँग जोडेको देखिन्छ । कम्पनीको प्रस्तावित परियोजनाले औद्योगिक आवश्यकतासँगै स्थानीय समुदायको खानेपानी आपूर्तिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार