काठमाडौं । सरकारले सञ्चालन गर्न लागेको नि:शुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अनलाइन तालिममा ६८ हजारभन्दा बढी आवेदन परेका छन् । सुरुमा दुई हजार युवालाई मात्र सहभागी गराउने लक्ष्य राखिएकोमा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि सरकारले सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ नामक तालिममा युवाहरूको उल्लेखनीय आकर्षण देखिएको हो ।
प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुन: आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन् । युवाहरूको उत्साह र सहभागितालाई मध्यनजर गर्दै तालिमको दायरा विस्तार गरी सबै आवेदकलाई समेट्ने निर्णय गरिएको हो ।
सुरुमा कात्तिक १८ र १९ गते चारवटा छुट्टाछुट्टै सत्र सञ्चालन गरी प्रतिसत्र ५०० जनाका दरले दुई हजार युवालाई तालिम दिने योजना थियो । अब भने आवेदन दिएका सबैलाई आफूले फाराममा रोजेको सत्रअनुसार सहभागी गराइनेछ ।
तालिममा सहभागी हुन आवश्यक लिंक कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत पठाइनेछ । सहभागीहरूले प्राप्त लिंकबाट दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । मोबाइल फोन वा ल्यापटप प्रयोग गरेर प्रत्यक्ष अनलाइन कक्षामा सहभागी हुन सकिने व्यवस्था गरिएको छ ।
तालिममा ChatGPT, Claude लगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, उपयोगी प्रम्प्ट लेखन, इमेल तथा कार्यालयका कागजात तयार गर्ने, प्रस्तुति निर्माण, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच गर्ने विषय समेटिनेछन् ।
युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक क्षेत्रमा एआई प्रविधिको उपयोग गर्न सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य रहेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ING Group Pvt. Ltd. र ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो । प्रतिष्ठानले आगामी दिनमा पनि रोजगारमूलक तथा प्रविधिसम्बन्धी तालिम विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
आईसीटी समाचार