काठमाडौं । बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिममा रहेका नागरिकलाई समयमै सूचना उपलब्ध गराउने उद्देश्यले गुगलले नेपालमा आपत्कालीन सूचना सेवा सञ्चालनमा ल्याएको छ ।
गुगलको होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ नामक छुट्टै लिंक राखिएको छ । उक्त सेवाबाट प्रयोगकर्ताले बाढीको पछिल्लो अवस्था, जोखिममा रहेका क्षेत्र र विपद्सम्बन्धी विभिन्न समाचार तथा अपडेट हेर्न सक्नेछन् ।
सेवामा गुगलको ‘फ्लड अलर्ट’सहित बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्र देखाउने नक्सासमेत राखिएको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो आसपासको क्षेत्र बाढीको जोखिममा छ कि छैन भन्नेबारे जानकारी लिन र अवस्थाअनुसार आवश्यक सावधानी अपनाउन सक्नेछन् ।
गुगलका अनुसार सरकारी निकायले जारी गर्ने पूर्वसूचना तथा चेतावनीलाई डिजिटल माध्यमबाट छिटो र सहज रूपमा नागरिकसम्म पुर्याउनु यो सेवाको मुख्य उद्देश्य हो । यसका लागि जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनालाई गुगल सर्च तथा गुगल म्याप्समार्फत प्रयोगकर्तासम्म पुर्याउने व्यवस्था गरिएको छ ।
विशेष गरी बाढीको उच्च जोखिम भएका क्षेत्रमा रहेका नागरिकले समयमै चेतावनी पाएमा सुरक्षित स्थानतर्फ जान तथा सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार