काठमाडौं । राति अबेरसम्म स्मार्टफोन चलाउने र सुत्ने बेला चार्जमा जोडेर छाड्ने बानी धेरैको छ । फोन रातभरि चार्जमा राख्दा ब्याट्री बिग्रिन्छ कि बिग्रिँदैन भन्ने विषयमा भने अझै धेरैमा अन्योल छ ।
आधुनिक स्मार्टफोनमा ब्याट्रीलाई सुरक्षित राख्न विभिन्न सुरक्षा प्रणाली जडान गरिएका हुन्छन् । ब्याट्री पूर्ण क्षमतामा पुगेपछि चार्जिङ नियन्त्रण गर्ने प्रविधि भएकाले नयाँ र राम्रो अवस्थामा रहेका फोनमा रातभर चार्जमा राख्दैमा तत्काल ओभरचार्ज भएर ठूलो क्षति हुने सम्भावना कम हुन्छ ।
सामसङले आफ्ना ग्यालेक्सी स्मार्टफोनसम्बन्धी जानकारीमा पनि फोनलाई रातभर चार्जमा जोडेर राख्दा ब्याट्री ओभरचार्ज हुने जोखिम नरहेको उल्लेख गरेको छ । तर यसको अर्थ फोनलाई लामो समयसम्म निरन्तर चार्जमा राख्नु ब्याट्रीका लागि पूर्ण रूपमा सुरक्षित हुन्छ भन्ने होइन ।
१०० प्रतिशत पुगेपछि पनि किन असर पर्न सक्छ ?
स्मार्टफोनमा प्रयोग हुने लिथियम–आयन ब्याट्रीले १०० प्रतिशत चार्ज पुगेपछि निरन्तर विद्युत् तानिरहँदैन । फोनको चार्जिङ प्रणालीले ब्याट्रीलाई सुरक्षित राख्न चार्जिङ व्यवस्थापन गर्छ । तर ब्याट्रीको चार्ज केही घटेपछि फोनले पुन: चार्जिङ प्रक्रिया सुरु गर्न सक्छ ।
लामो समयसम्म फोन चार्जरमा जोडिरहँदा यस्तो प्रक्रिया दोहोरिन सक्छ, जसले समयसँगै ब्याट्रीको क्षमता र आयुमा असर पार्न सक्छ । विशेष गरी ब्याट्रीको स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण विषय ‘ओभरचार्ज’ भन्दा तापक्रम हो ।
चार्ज गर्दा फोन तात्नु किन चिन्ताको विषय ?
फोन चार्ज भइरहेका बेला सामान्य अवस्थामा पनि केही मात्रामा ताप उत्पन्न हुन्छ । फोन प्रयोग गर्दै चार्ज गर्ने, बाक्लो कभर लगाउने वा हावा नचल्ने ठाउँमा राख्ने हो भने तापक्रम अझ बढ्न सक्छ ।
अत्यधिक तापले ब्याट्रीको क्षमतामा असर पार्नुका साथै दीर्घकालमा यसको स्वास्थ्य कमजोर बनाउन सक्छ । त्यसैले फोनलाई चार्जमा राख्दा सिरानीमुनि, ओछ्यान वा अत्यधिक गर्मी हुने ठाउँमा राख्नुभन्दा खुला र हावा चल्ने स्थानमा राख्नु सुरक्षित हुन्छ ।
एप्पलले पनि आईफोनको ब्याट्रीसम्बन्धी जानकारीमा लामो समयसम्म उच्च तापक्रमको सम्पर्कमा रहँदा ब्याट्रीको स्वास्थ्यमा असर पर्न सक्ने बताउँदै आएको छ ।
त्यसो भए रातभरि चार्ज गर्नै नहुने हो ?
रातभरि फोन चार्जमा राख्दैमा तत्काल ठूलो समस्या हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन । आधुनिक फोनमा चार्जिङ नियन्त्रण गर्ने सुरक्षा प्रणाली भएकाले सामान्य अवस्थामा आगलागी वा ब्याट्री ओभरचार्ज हुने जोखिम निकै कम हुन्छ ।
तर ब्याट्रीको दीर्घकालीन स्वास्थ्य जोगाउन भने फोनलाई अनावश्यक रूपमा लामो समयसम्म चार्जमा जोडेर राख्ने बानी कम गर्नु राम्रो हुन्छ ।
चार्ज गर्दा गुणस्तरीय र फोन निर्माता कम्पनीले सिफारिस गरेको चार्जर तथा केबल प्रयोग गर्ने, फोन अत्यधिक तात्न नदिने र चार्ज भइरहेका बेला भारी काममा फोन नचलाउने जस्ता सावधानी अपनाउनु बढी महत्वपूर्ण हुन्छ ।
त्यसैले रातभरि फोन चार्जमा राख्नु तत्काल खतरनाक काम नभए पनि, ब्याट्रीको आयु र स्वास्थ्यलाई ध्यान दिने हो भने चार्जिङको सही बानी बसाल्नु नै उपयुक्त हुन्छ ।
आईसीटी समाचार