कीवर्डहरू -

नेपाल विश्वविद्यालयद्वारा उच्च शिक्षा सुधारसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सुरु

नेपाल विश्वविद्यालयद्वारा उच्च शिक्षा सुधारसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सुरु

ललितपुर । नेपाल विश्वविद्यालयको आयोजनामा उच्च शिक्षाको गुणस्तर, संस्थागत सुधार, नवप्रवर्तन र भविष्यका चुनौतीबारे छलफल गर्न दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी बुधबार ललितपुरमा सुरु भएको छ ।

ललितपुरस्थित होटल हिमालयमा आयोजित ‘अमेरिकी उच्च शिक्षाको अनुभवबाट सिकाइ : दृष्टिकोण, चुनौती, नवप्रवर्तन र भावी दिशा’ विषयक गोष्ठीको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षाका क्षेत्रमा सरकारका प्राथमिकताबारे चर्चा गरे । उच्च शिक्षाको गुणस्तर सुधार, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण र शिक्षालाई मुलुकको विकासका आवश्यकतासँग जोड्ने विषयमा गोष्ठी केन्द्रित छ ।

null

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल विश्वविद्यालयका उपकुलपति प्रा. डा. अर्जुन कार्कीले नेपालको उच्च शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्न अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नुपर्ने बताए ।

उनले सार्वजनिक विश्वविद्यालयहरू समाजप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै आलोचनात्मक चिन्तन, व्यावहारिक सीप, अनुसन्धान र उद्यमशीलताको विकासमा जोड दिए । विश्वविद्यालयले प्रमाणपत्र मात्र नभई ज्ञान र सीपसहितको सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।

उद्घाटन सत्रको अध्यक्षता गरेका विश्वविद्यालयको संरक्षक परिषद् कार्यकारी समितिका अध्यक्ष प्रा.इ. लालकृष्ण के.सी.ले विश्वविद्यालयले कानुनी स्थापनाबाट मात्र नभई शैक्षिक उत्कृष्टता, सुशासन र समाजमा पुर्‍याउने योगदानबाट सार्वजनिक विश्वास आर्जन गर्नुपर्ने बताए ।

उनले नेपाल विश्वविद्यालयलाई राष्ट्रिय आवश्यकतासँग सान्दर्भिक र विश्वस्तरमा प्रतिस्पर्धी सार्वजनिक विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे । उदार कला तथा विज्ञानमा आधारित शिक्षासँगै विभिन्न विषयको व्यापक ज्ञान र कुनै एक विषयमा गहन विशेषज्ञता प्रदान गर्ने ‘टी-मोडेल’ शिक्षण पद्धति विश्वविद्यालयको विशेषता रहेको उनले बताए ।

नेपालको विकासका चुनौतीलाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्दै स्वतन्त्र रूपमा सोच्न, विवेकपूर्ण निर्णय गर्न र व्यावहारिक समस्या समाधान गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित रहेको उनको भनाइ थियो ।

उद्घाटन समारोहमा नेपालस्थित अमेरिकी दूतावासका उपनियोग प्रमुख स्कट अर्बोम, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर के.सी., राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना र नेपालस्थित अमेरिकी शैक्षिक प्रतिष्ठान (यूएसईएफ–नेपाल) की प्रतिनिधि निष्ठा राजभण्डारीले पनि मन्तव्य राखे ।

गोष्ठीको पहिलो दिन अमेरिकी कलेज तथा विश्वविद्यालयहरूको सङ्घका अध्यक्ष प्रा. डा. लिन पास्क्वेरेलाले मुख्य वक्तव्य दिइन् । उनले अमेरिकी समृद्धि र विकासमा उच्च शिक्षाको भूमिकाबारे चर्चा गर्दै  विश्वविद्यालयहरूले अनुसन्धान, नवप्रवर्तन, बौद्धिक विकास र नागरिक उत्तरदायित्वमा पुर्‍याउन सक्ने योगदानबारे प्रकाश पारिन् ।

‘परिवर्तनको संघारमा उच्च शिक्षा : विश्वव्यापी परिवर्तन र साझा भविष्य’ विषयक पहिलो दिनका प्राविधिक सत्रहरूको सहजीकरण प्रा.डा. पीताम्बर शर्माले गरे । सत्रहरूमा प्रा. डा. बालचन्द्र लुइँटेल, प्रा. डा. सूर्यराज आचार्य, प्रा. डा. निर क्षत्री, चाँदनी जोशी र डा. नीति अर्याल खनालले कार्यपत्र प्रस्तुत गरे ।

छलफलमा परम्परागत परीक्षा र प्रमाणपत्रमुखी शिक्षालाई आलोचनात्मक चिन्तन, अन्तरविषयक अध्ययन, नवीन शिक्षण पद्धति र व्यावहारिक समस्या समाधानसँग जोड्नुपर्ने विषय उठाइएको थियो । कृत्रिम बुद्धिमत्ताको विकाससँगै विश्वविद्यालयहरूको बदलिँदो भूमिका, प्राज्ञिक स्वायत्तता, संस्थागत जवाफदेहिता, शैक्षिक अवसर तथा नेपाल–अमेरिका प्राज्ञिक सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो ।

बिहीबार हुने दोस्रो दिनको कार्यक्रममा दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्रा. डा. के.के. अग्रवालले मुख्य वक्तव्य दिनेछन् । त्यसपछि उदार कला तथा विज्ञान शिक्षा, उद्यमशीलता, विश्वविद्यालय–उद्योग सहकार्य, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताबारे छलफल हुनेछ । गोष्ठीको अन्तिम सत्रमा नेपालको उच्च शिक्षा रूपान्तरणको मार्गचित्रबारे प्यानल छलफल गर्ने कार्यक्रम छ ।

फ्रिडम २५० तथा यूएसईएफ–नेपाल/फुलब्राइट कमिसनको सहयोगमा गोष्ठी आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय अनुभवबाट सिक्दै नेपालको उच्च शिक्षा प्रणाली सुधार र प्राज्ञिक सहकार्य विस्तारका सम्भावना पहिचान गर्नु गोष्ठीको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

२०८१ सालमा संसद्बाट पारित ऐनअनुसार स्थापित नेपाल विश्वविद्यालय स्वायत्त, गैरनाफामूलक तथा बहुविषयक सार्वजनिक विश्वविद्यालय हो । विश्वविद्यालयले उदार कला तथा विज्ञानमा आधारित अध्ययन, अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक सीप विकासलाई प्राथमिकता दिँदै आएको छ ।