कीवर्डहरू -

कोसी जनस्वास्थ्य प्रयोगशाला पूर्ण डिजिटल, घरबाटै दर्ता र अनलाइन रिपोर्ट

कोसी जनस्वास्थ्य प्रयोगशाला पूर्ण डिजिटल, घरबाटै दर्ता र अनलाइन रिपोर्ट

विराटनगर । कोसी प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउँदै प्रशासनिक कामदेखि प्रयोगशाला परीक्षणसम्मका अधिकांश सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ । अनलाइन पोर्टल र कुरियर प्रणालीको प्रयोगसँगै सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट हटेको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीका अनुसार निजी प्रयोगशालाको दर्ता तथा नवीकरण, परीक्षण रिपोर्ट प्राप्त गर्ने सेवा, प्रयोगशालाको सूचीकरण, प्रशासनिक व्यवस्थापन र कर्मचारीको ई–हाजिरीसम्मका सेवा एकीकृत डिजिटल प्रणालीमार्फत सञ्चालनमा छन् । यसले सेवाप्रवाहलाई छरितो, पारदर्शी र सहज बनाएको उनको भनाइ छ ।

अब घरबाटै दर्ता र नवीकरण
निजी प्रयोगशाला सञ्चालन अनुमति वा नवीकरणका लागि अब सेवाग्राहीले कार्यालय पुग्नुपर्ने आवश्यकता छैन । सम्बन्धित कागजात अनलाइनमार्फत अपलोड गरी निवेदन दिन सकिने व्यवस्था गरिएको छ । प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि स्वीकृति प्रक्रिया पनि अनलाइनमै पूरा हुने र प्रमाणपत्रसमेत डिजिटल माध्यमबाट उपलब्ध गराइने प्रयोगशालाले जनाएको छ ।

१४ जिल्लाबाट कुरियरमार्फत नमुना
कोसी प्रदेशका १४ वटै जिल्लाका सरकारी तथा प्रमुख अस्पतालसँग समन्वय गरी स्थानीय स्तरमा परीक्षण सम्भव नभएका नमुना कुरियरमार्फत विराटनगर ल्याउने व्यवस्था गरिएको छ । अस्पतालले अनलाइन प्रणालीबाटै कुरियर सेवा बुक गर्न र नमुनाको अवस्थाबारे ट्र्याकिङ गर्न सक्ने सुविधा पनि उपलब्ध छ ।

स्थानीय अस्पतालमा संकलन गरिएका नमुना कोल्ड चेन बक्समा सुरक्षित राखेर प्रयोगशालामा ल्याइन्छ । परीक्षण सम्पन्न भएपछि प्रतिवेदन पनि डिजिटल माध्यमबाट सम्बन्धित अस्पताल वा बिरामीसम्म पठाइने व्यवस्था गरिएको छ ।

दुर्गमका बिरामीलाई ठूलो राहत
यस व्यवस्थाले ताप्लेजुङ, सङ्खुवासभा, उदयपुर, झापा लगायतका जिल्लाका बिरामीलाई सामान्य परीक्षणका लागि विराटनगर वा काठमाडौं धाउनुपर्ने बाध्यता हटाएको छ । अब आफ्नै जिल्लाको अस्पतालमा नमुना बुझाएपछि प्रदेश प्रयोगशालाबाट परीक्षण गरी रिपोर्ट अनलाइनमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

प्रयोगशालाका अनुसार गत आर्थिक वर्षमा करिब दुई हजार पाँच सय नमुना कुरियरमार्फत परीक्षणका लागि ल्याइएका थिए । तीमध्ये क्यान्सरजस्ता गम्भीर रोगको समयमै पहिचान गर्न यो प्रणाली प्रभावकारी बनेको दाबी गरिएको छ ।

राजस्व बढ्यो, हजारौंले पाए छुट
गत आर्थिक वर्षमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट ४५ हजार ८२० जनाले सेवा लिएका छन् । यस अवधिमा तीन करोड १३ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने सरकारले तोकेको मापदण्डअनुसार ९४ लाख ८६ हजार रुपैयाँ बराबरको छुट सुविधा प्रदान गरिएको प्रयोगशालाले जनाएको छ । छुट सुविधा पाउनेमध्ये ज्येष्ठ नागरिकको संख्या उल्लेख्य रहेको छ ।

पाँच लाखमै तयार भयो डिजिटल प्रणाली
प्रयोगशालाले करिब पाँच लाख रुपैयाँ लागतमा तयार गरेको सफ्टवेयर करिब छ महिनाअघि सञ्चालनमा ल्याएको हो । यस प्रणालीमा परीक्षण रिपोर्ट, प्रयोगशाला दर्ता, सूचीकरण, परीक्षण प्याकेज, कार्यालय व्यवस्थापन र ई–हाजिरीजस्ता सेवा समेटिएका छन् ।

निमित्त निर्देशक कार्कीका अनुसार डिजिटल प्रणाली लागू भएपछि सेवा प्रवाह अझ प्रभावकारी बनेको छ । यद्यपि स्वास्थ्य संस्थाको दर्ता र नवीकरणजस्ता केही अन्य प्रशासनिक सेवामा भने अझै सेवाग्राहीले कार्यालय धाउनुपर्ने अवस्था रहेकाले ती सेवा समेत पूर्ण रूपमा डिजिटल बनाउने तयारी भइरहेको उनले बताए ।