कीवर्डहरू -

मेटाले फेसबुकमा ल्यायो एआई क्रिएटर असिस्टेन्ट, कन्टेन्ट निर्माणमा दिनेछ स्मार्ट सुझाव

मेटाले फेसबुकमा ल्यायो एआई क्रिएटर असिस्टेन्ट, कन्टेन्ट निर्माणमा दिनेछ स्मार्ट सुझाव

काठमाडौं । मेटाले फेसबुकमा नयाँ एआई क्रिएटर असिस्टेन्ट सार्वजनिक गरेको छ, जसले सामाग्री सिर्जनाकर्ताहरू (क्रिएटरहरू) लाई उनीहरूको सामाग्रीको प्रदर्शन, दर्शक तथा लक्ष्यका आधारमा व्यक्तिगत सुझाव प्रदान गर्नेछ ।

यस सुविधामार्फत क्रिएटरहरूले अब आफ्नो पोस्टको प्रदर्शन विश्लेषण गर्न जटिल चार्ट वा ड्यासबोर्ड हेर्नुपर्ने आवश्यकता बिना नै एआईसँग प्रश्न सोधेर आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । मेटाका अनुसार यसले राम्रो सामाग्री निर्माण गर्न तथा दर्शकसँग अझ प्रभावकारी रूपमा जोडिन मद्दत गर्नेछ ।

नयाँ एआई क्रिएटर असिस्टेन्ट संवादात्मक (कन्भर्सेसनल) हुनेछ, जसले क्रिएटरहरूलाई थप प्रश्न सोध्न तथा गहिरो विश्लेषण प्राप्त गर्न सहयोग गर्नेछ । यसले समयसँगै दर्शकको व्यवहारमा आएको परिवर्तनबारे जानकारी दिँदै सामाग्रीको प्रदर्शन सुधार गर्न आवश्यक सुझावहरू पनि प्रदान गर्नेछ ।

एआईले क्रिएटरको आफ्नै डाटा र गतिविधिको विश्लेषण गरी राम्रो नतिजा हासिल गर्न सकिने उपायहरू सिफारिस गर्नेछ । साथै, ट्रेन्डिङ विषय वस्तुहरूका आधारमा नयाँ कन्टेन्ट आइडिया पनि उपलब्ध गराउनेछ । उदाहरणका लागि, ट्रेन्डिङ अडियो प्रयोग गर्न वा समसामयिक तथा सांस्कृतिक घटनासँग सम्बन्धित सामग्री तयार गर्न सुझाव दिन सक्नेछ ।

मेटाले हाल यो सुविधा अमेरिका, क्यानडा र भारतका क्रिएटरहरूका लागि विस्तार गरिरहेको जनाएको छ । कम्पनीले आगामी दिनमा अन्य देशहरूमा पनि यसको उपलब्धता बढाउने योजना बनाएको छ ।

मेटाका अनुसार यस एआईले क्रिएटरहरूलाई फेसबुकभित्रै कन्टेन्ट आइडिया, प्रदर्शन विश्लेषण तथा सुधारका सुझाव उपलब्ध गराउनेछ । यसले टिकटक र युट्युबजस्ता प्रतिस्पर्धी प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न फेसबुकलाई थप सक्षम बनाउने कम्पनीको विश्वास छ ।

साथै, बाह्य उपकरण वा सेवाहरूको आवश्यकता कम गर्दै प्रयोगकर्तालाई मेटाकै इकोसिस्टमभित्र राख्ने उद्देश्य पनि रहेको बताइएको छ । यससँगै मेटाले फेसबुकमा नयाँ एआई अनुवाद सुविधाको भाषा दायरा पनि विस्तार गरेको छ । अब अरबी, इन्डोनेसियाली, फ्रेन्च र भियतनामी लगायतका भाषाहरू यसमा समावेश गरिएका छन् ।

एआई ट्रान्सलेटेड रिल्स (AI-Translated Reels) सुविधाले क्रिएटरको आवाज र प्रस्तुतीकरण शैलीलाई जोगाउँदै भिडियो सामग्रीलाई विभिन्न भाषामा अनुवाद गर्न सक्षम बनाउँछ । यसमा लिप–सिंक (Lip Sync) सुविधा पनि समावेश गरिएको छ, जसले अनुवादित अडियोलाई वक्ताको ओठको चालसँग मिलाएर अझ स्वाभाविक अनुभव प्रदान गर्छ ।

मेटाका अनुसार हाल फेसबुकमा हरेक हप्ता करोडौं प्रयोगकर्ताले एआईद्वारा अनुवाद गरिएका भिडियोहरू हेर्ने गरेका छन् ।