काठमाडौं । मेटाले गत महिना घोषणा गरेको आफ्नो सामाजिक सञ्जाल सदस्यता योजनाअन्तर्गत इन्स्टाग्राम प्लस सेवा विश्वव्यापी रूपमा सुरु गरेको छ । कम्पनीले सशुल्क सदस्यहरूका लागि उपलब्ध हुने विभिन्न विशेष सुविधाबारे थप विवरण सार्वजनिक गरेको छ ।
इन्स्टाग्राम प्लस सदस्यहरूले आफ्ना पोस्टको पहुँच बढाउन, निश्चित दर्शक समूहलाई लक्षित गर्न तथा अन्य विशेष उपकरणहरू प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यस सेवाले सामाग्री सिर्जनाकर्ता तथा सक्रिय प्रयोगकर्ताहरूलाई आफ्ना सामाग्री थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सहयोग गर्नेछ ।
यसअन्तर्गत स्टोरी स्पटलाइट सुविधाले प्रयोगकर्ताको प्रोफाइललाई साथीहरूको फिडमा प्राथमिकता दिनेछ भने स्टोरी एक्सटेन्ड सुविधामार्फत स्टोरीहरू २४ घण्टाको सट्टा ४८ घण्टासम्म देख्न सकिनेछ ।
सदस्यहरूले फरक फरक दर्शक सूची तयार गरी स्टोरी कसले हेर्न पाउने भन्ने छनोट गर्न सक्नेछन् । साथै, स्टोरी प्रकाशनअघि पूर्वावलोकन गर्ने, पुन: हेरिएको संख्या हेर्ने तथा स्टोरी हेर्ने व्यक्तिहरू खोज्ने सुविधा पनि उपलब्ध हुनेछ ।
प्रयोगकर्ताले कुनै पोस्ट मुख्य फिडमा नदेखाई सिधै आफ्नो प्रोफाइल वा हाइलाइट्समा प्रकाशित गर्न सक्नेछन् । यसका अतिरिक्त, नयाँ एप आइकन छनोट गर्ने, बायोको फन्ट परिवर्तन गर्ने, प्रोफाइलको शीर्ष भागमा ६ वटा सामाग्री पिन गर्ने तथा साथीहरूको स्टोरीमा एनिमेटेड ‘सुपर हार्ट’ पठाउने सुविधा पनि समावेश गरिएको छ ।
मेटाले आगामी महिनाहरूमा इन्स्टाग्राम प्लसमा थप नयाँ सुविधाहरू थपिने जनाएको छ । हाल यस सदस्यता सेवाको मासिक शुल्क ३.९९ अमेरिकी डलर निर्धारण गरिएको छ । सशुल्क सदस्यहरूले सामाग्रीको पहुँच विस्तार गर्ने, प्रोफाइललाई थप आकर्षक बनाउने तथा दर्शक व्यवस्थापनका विशेष उपकरणहरू प्रयोग गर्न सक्नेछन् ।
आईसीटी समाचार