काठमाडौं । राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआईटी एबीएमसी टिमले जितेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टोलीले उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।
प्रतियोगितामा काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्सको ‘द मर्ज कन्फ्लिक्ट’ टिम दोस्रो भएको छ । दोस्रो स्थान हासिल गरेको उक्त टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै, लुम्बिनी प्राविधिक विश्वविद्यालयको ‘पिक्सेल स्क्वाड’ टिम तेस्रो हुँदै १५ हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितामा उत्कृष्ट महिला नेतृत्व विधाको पुरस्कार सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङको टोलीले जितेको छ । उक्त टोलीलाई १० हजार रुपैयाँ प्रदान गरिएको आयोजक स्कुल अफ इन्जिनियरिङअन्तर्गतको इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबका सल्लाहकार दिलीप पन्तले जानकारी दिए ।
त्यसैगरी, उत्कृष्ट प्रस्तुति विधाको पुरस्कार लुम्बिनी इन्जिनियरिङ कलेजले प्राप्त गरेको छ भने उत्कृष्ट क्षेत्रीय प्रभाव विधाको पुरस्कार सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङको टोलीले जितेको छ । सुदूरपश्चिम विश्वविद्यालयको इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँचवटा विश्वविद्यालयका १० टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा सहभागी टोलीले ४८ घण्टाको अवधिमा विभिन्न समस्या पहिचान गरी तिनको समाधानका नमुना तयार पारेका थिए । त्यसपछि प्रत्येक टोलीले निर्णायकसमक्ष आफ्नो परियोजना प्रस्तुत गरेका थिए ।
प्रस्तुतिको मूल्याङ्कनका आधारमा उत्कृष्ट टोली छनोट गरी पुरस्कार प्रदान गरिएको पन्तले बताए । उनका अनुसार क्लबले यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै हरेक वर्ष राष्ट्रिय ह्याकाथन आयोजना गर्ने लक्ष्य राखेको छ ।
आईसीटी समाचार