काठमाडौं । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि पोस्ट भइसकेका फोटो तथा क्यारोसेल पोस्टमा रहेको गीत वा सङ्गीत परिवर्तन गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ । यसअघि कुनै पोस्टमा राखिएको गीत परिवर्तन गर्न चाहने प्रयोगकर्ताले उक्त पोस्ट हटाएर नयाँ गीतसहित पुन: अपलोड गर्नुपर्ने बाध्यता थियो ।
अब भने Replace Audio टुलमार्फत प्रयोगकर्ताले आफूले चाहेको समयमा पोस्टको गीत वा सङ्गीत परिवर्तन गर्न सक्नेछन् । इन्स्टाग्रामका अनुसार अडियो परिवर्तन गर्दा पोस्टमा पहिलेदेखि रहेका लाइक, कमेन्ट, सेयर तथा रिच (Reach) मा कुनै असर पर्दैन । अर्थात् पोस्टको इन्गेजमेन्ट सुरक्षित रहनेछ ।
कम्पनीका अनुसार यो नयाँ फिचरले कन्टेन्ट क्रिएटर तथा ब्रान्डहरूलाई आफ्ना सामाग्रीमा थप सिर्जनात्मक नियन्त्रण प्रदान गर्नेछ । यसअघि नयाँ गीत प्रयोग गर्न पोस्ट नै हटाउनुपर्ने भएकाले इन्गेजमेन्ट गुम्ने समस्या थियो । अब भने त्यो बाध्यता हटेको छ ।
यो सुविधा विशेष गरी नयाँ ट्रेन्डिङ गीत प्रयोग गरेर पुराना पोस्टलाई अद्यावधिक गर्न चाहने प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । साथै, समयसँगै परिवर्तन हुने आफ्ना सङ्गीत रुचिअनुसार पुराना पोस्टका अडियो पनि सजिलै परिवर्तन गर्न सकिनेछ ।
अडियो कसरी परिवर्तन गर्ने ?
- अडियो परिवर्तन गर्न चाहेको पोस्ट खोल्नुहोस् ।
- माथिल्लो दायाँ कुनामा रहेको तीन बुँदाको मेनु (⋮) मा ट्याप गर्नुहोस् ।
- Edit विकल्पमा जानुहोस् ।
- त्यहाँ देखिने Replace Audio विकल्प चयन गरी आफूले चाहेको नयाँ गीत वा सङ्गीत छान्नुहोस् ।
- परिवर्तन Save गर्नुहोस् ।
अब पोस्ट पुन: अपलोड नगरीकनै पुराना पोस्टमा रहेको गीत वा सङ्गीत सजिलै परिवर्तन गर्न सकिनेछ ।
आईसीटी समाचार