काठमाडौं । मेटाले फेसबुक प्रयोगकर्ताका लागि एआईमा आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । कम्पनीले फेसबुकको खोज प्रणालीलाई अझ प्रभावकारी बनाउँदै ‘एआई मोड’सहित फोटो र भिडियो सम्पादनका लागि नयाँ कृत्रिम बुद्धिमत्ता उपकरणहरू थप गरेको हो ।
नयाँ एआई मोडले परम्परागत सर्च प्रणालीभन्दा फरक तरिकाले काम गर्नेछ । प्रयोगकर्ताले कुनै विषय खोज्दा वेब लिङ्कहरूको सूची मात्र देखाउनुको सट्टा मेटा एआईले सिधै विस्तृत उत्तर उपलब्ध गराउनेछ । यसका लागि प्रणालीले फेसबुकका सार्वजनिक ग्रुप, रिल्स र प्रयोगकर्ताबीच भइरहेका छलफल तथा अनुभवलाई आधार बनाउनेछ ।
मेटाका अनुसार नयाँ सर्च अनुभवले फेसबुकभित्र उपलब्ध मानव निर्मित सामाग्रीलाई अझ उपयोगी बनाउने लक्ष्य राखेको छ । कम्पनीले यसअघि नै फेसबुक ग्रुपका कमेन्ट र छलफलबाट जानकारी खोज्न सहज बनाउने उद्देश्यले ‘फोरम’ नामक छुट्टै एप पनि सार्वजनिक गरिसकेको छ । पछिल्लो कदममार्फत मेटाले रेडिटजस्तै समुदायमा आधारित ज्ञान प्रणालीलाई आफ्नै प्लेटफर्ममा विस्तार गर्न खोजेको देखिन्छ ।
यसैगरी, फेसबुकले फोटो र भिडियो सिर्जनालाई सहज बनाउन एआई सम्पादन सुविधा पनि विस्तार गरेको छ । नयाँ उपकरणले प्रयोगकर्ताको मोबाइल क्यामेरा रोलमा रहेका पुराना तस्बिरहरू विश्लेषण गरी स्वचालित रूपमा भिडियो कोलाज, ट्रान्जिसन इफेक्ट र अन्य सिर्जनात्मक सामाग्री तयार गर्न सक्नेछ ।
एआईले प्रयोगकर्ताको पछिल्लो एक महिनाको गतिविधिका आधारमा सम्भावित पोस्टका लागि विषय वा ढाँचा पनि सुझाव दिनेछ । यद्यपि यो सुविधा अनिवार्य नभई प्रयोगकर्ताको इच्छाअनुसार मात्र सक्रिय हुने मेटाले जनाएको छ ।
फेसबुक स्टोरी र प्रोफाइल फोटोका लागि पनि नयाँ एआई प्रिसेटहरू उपलब्ध गराइएको छ । यसमार्फत प्रयोगकर्ताले तस्बिरमा रहेका कपडा परिवर्तन गर्न वा नयाँ शैली सिर्जना गर्न सक्नेछन् । उदाहरणका लागि, खेलकुद समर्थकहरूले ‘एडिट विथ एआई’ विकल्प प्रयोग गरी आफ्नो फोटोमा मनपर्ने टोलीको जर्सी डिजिटल रूपमा लगाउन सक्नेछन् ।
मेटाले यी नयाँ सुविधामार्फत फेसबुकलाई केवल सामाजिक सञ्जाल मात्र नभई एआई सहयोगी प्लेटफर्मका रूपमा विकास गर्ने रणनीति अघि बढाएको छ ।
आईसीटी समाचार