काठमाडौं । ओपनएआईले च्याटजीपीटीलाई थप उपयोगी र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ सुविधा विस्तार गरेको छ । कम्पनीले ‘पेजेस’, ‘स्लाइड्स’ र ‘स्पेसेस’ लगायतका सुविधासँगै च्याटजीपीटीभित्रै एपजस्तो अनुभव दिने व्यवस्था विस्तार गर्न लागेको हो ।
ओपनएआईका अनुसार अब विकासकर्ताले प्लगइनमार्फत च्याटजीपीटीभित्रै आफ्ना एप तथा सेवाहरू निर्माण गर्न सक्नेछन् । यसअन्तर्गत स्ल्याक, सेयरपोइन्ट र गुगल ड्राइभजस्ता एपहरू च्याटजीपीटीको साइडबारबाटै प्रयोग गर्न सकिनेछ ।
विकासकर्ताले च्याटजीपीटीसँग कुराकानी गर्दै आफ्ना एप सञ्चालन गर्न मिल्ने छुट्टै प्यानलसमेत बनाउन सक्नेछन् । त्यस्तै, विभिन्न प्रकारका फाइल हेर्न र प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ ।
ओपनएआईले प्लगइन निर्माण तथा खोजीलाई सहज बनाउन नयाँ सुविधा पनि थपेको छ । विकासकर्ताले ‘प्लगइन क्रिएटर’मार्फत सजिलै प्लगइन तयार गरी निर्देशिकामा राख्न सक्नेछन् ।
प्लगइन सिफारिस गर्ने प्रणालीमा समेत सुधार गरिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आवश्यकताअनुसार प्लगइनलाई आवश्यक पर्ने अनुमति छुट्टाछुट्टै प्रदान गर्न सक्नेछन् ।
च्याटजीपीटीबाट बनाइएका वेबसाइटमा समेत प्लगइन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यसबाट प्रयोगकर्ताले आफ्ना एप तथा सेवाहरू अन्य व्यक्तिसँग सहज रूपमा साझा गर्न सक्नेछन् ।
यसैगरी, जोडिएका एपमा कुनै गतिविधि भएमा त्यसका आधारमा स्वचालित रूपमा काम सुरु हुने सुविधा पनि थपिनेछ । यस्ता स्वचालित काम तथा गतिविधि व्यवस्थापन गर्न पनि च्याटजीपीटीमा सहज व्यवस्था गरिने ओपनएआईले जनाएको छ ।
आईसीटी समाचार