काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्ताका लागि ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट वा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।
खल्तीका अनुसार यो योजना साउन महिनाभर सञ्चालन हुनेछ । डिम्याट तथा मेरोशेयर नवीकरणलाई समयमै गर्न प्रोत्साहन गर्ने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र बुझाउन आग्रह गरेको छ ।
तोकिएको समयभित्र शुल्क नतिरे साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने भएकाले समयमै नवीकरण गर्न आवश्यक रहेको बताइएको छ । डिम्याट खाता रोक्का भएमा सेयर खरिद बिक्रीलगायत पूँजीबजारसम्बन्धी कारोबार प्रभावित हुन सक्छ ।
हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोशेयर खाताको ५० रुपैयाँ तोकिएको छ । खल्तीले यही शुल्क भुक्तानी गर्ने प्रयोगकर्तामध्ये प्रत्येक १५ दिनमा १०० जनालाई शतप्रतिशत क्यासब्याक उपलब्ध गराउने जनाएको छ ।
प्रयोगकर्ताले खल्ती एपको Financial Services अन्तर्गत रहेको MeroShare & Demat Renewal सेवा प्रयोग गरी केही चरणमै डिम्याट तथा मेरोशेयर नवीकरण गर्न सक्नेछन् । साथै, ब्रोकर वा डिपोजिटरी पार्टिसिपेन्ट (DP) को वेबसाइटमार्फत नवीकरण गर्दा पनि खल्ती पेमेन्ट गेटवे प्रयोग गरेर शुल्क भुक्तानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरण सेवालाई अझ छिटो, सुरक्षित र सहज बनाउन एप र पेमेन्ट गेटवे दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले घरमै बसेर २४सै घण्टा नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन् ।
आईसीटी समाचार