कीवर्डहरू -

डिजिटल वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकले बनायो पाँच वर्षे फिनटेक रणनीति

डिजिटल वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकले बनायो पाँच वर्षे फिनटेक रणनीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तारसँगै फिनटेक क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले पाँच वर्षे रणनीतिक योजना अघि सारेको छ । रणनीतिले प्रविधिमा आधारित वित्तीय सेवाको विकाससँगै सुरक्षित, समावेशी र प्रतिस्पर्धी डिजिटल वित्तीय प्रणाली निर्माणमा जोड दिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ आर्थिक वर्ष २०२६/२७ देखि २०३०/३१ सम्म लागू गर्ने प्रस्ताव गरिएको छ ।

बढ्दो डिजिटल वित्तीय सेवासँगै नयाँ प्रविधि र फिनटेक कम्पनीहरूको भूमिका विस्तार भइरहेका बेला राष्ट्र बैंकले नियमनलाई प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार सुदृढ गर्ने तथा सम्बन्धित निकायबीच सहकार्य बढाउने विषयलाई रणनीतिको प्रमुख प्राथमिकतामा राखेको छ ।

रणनीतिलाई तीन प्रमुख आधारमा विभाजन गरिएको छ । पहिलो आधारस्तम्भमा डिजिटल पूर्वाधार विकास, दोस्रोमा नीति, नियमन तथा सुशासन र तेस्रोमा फिनटेक इकोसिस्टमको विकासलाई समेटिएको छ ।

फिनटेक क्षेत्रमा सेवा प्रदायकबीच स्वस्थ र समान प्रतिस्पर्धाको वातावरण तयार गर्नु रणनीतिको अर्को महत्वपूर्ण उद्देश्य हो । यसबाट डिजिटल वित्तीय सेवाको लागत घटाउने, प्रविधिमा आधारित वित्तीय गतिविधिबाट उत्पन्न जोखिम नियन्त्रण गर्ने तथा नयाँ प्रकारका डिजिटल वित्तीय उत्पादन र सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

रणनीतिले डिजिटल वित्तीय सेवाको पहुँच अझै सीमित रहेका विभिन्न वर्गलाई समेत प्राथमिकतामा राखेको छ । साना तथा मझौला उद्यम, ग्रामीण क्षेत्रका नागरिक, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध श्रमिकलाई लक्षित समूहका रूपमा समेटिएको छ ।

राष्ट्र बैंकले रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएमा डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार हुनुका साथै वित्तीय साक्षरता बढ्ने अपेक्षा गरेको छ । साथै, सुरक्षित, समावेशी, नवप्रवर्तनमुखी तथा विभिन्न प्रणालीबीच सहज अन्तरआबद्धता भएको डिजिटल वित्तीय संरचना विकासमा यसले योगदान पुर्‍याउने विश्वास केन्द्रीय बैंकको छ ।