तनहुँ । तनहुँ जिल्लामा डिजिटल प्रविधिको प्रयोगसँगै जग्गा सम्बन्धी सेवा प्रवाह सहज र आधुनिक बन्दै गएको छ । यसअघि जग्गाको नक्सा (ब्लु प्रिन्ट) निकाल्न सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता रहेपनि अहिले भने गाउँमै बसेर सस्तो र छिटो सेवा लिन सकिने भएको छ ।
डिजिटल प्रणाली ‘मेरो कित्ता’ कार्यान्वयनमा आएपछि जिल्लाभरका सेवाग्राहीलाई नापी कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटेको छ । विशेष गरी वैदेशिक अध्ययन, व्यापार व्यवसाय तथा बैंकिङ प्रयोजनका लागि आवश्यक पर्ने जग्गाको नक्सा अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ ।
नापी कार्यालय तनहुँका अनुसार सेवाग्राहीले अनलाइनमार्फत एक सय रुपैँया शुल्क तिरेपछि आफ्नै कम्प्युटर वा नजिकको साइबरबाट नक्सा प्रिन्ट गर्न सक्छन् । नक्सा पीडीएफ फाइलमा उपलब्ध हुने भएकाले यसको मापन र प्राविधिक शुद्धतामा कुनै असर नपर्ने जनाइएको छ ।
साथै, एक पटक भुक्तानी गरेपछि एक सातासम्म सोही फाइलबाट पुन: प्रिन्ट लिन सकिने सुविधा पनि उपलब्ध छ । भौगोलिक रूपमा विकट क्षेत्र भएका गाउँबाट सदरमुकाम पुगेर नक्सा लिनुपर्ने बाध्यता हटेपछि सेवाग्राहीको समय र खर्च दुवै बचत भएको छ ।
बैंक तथा वित्तीय संस्थाले समेत अनलाइनबाट प्राप्त नक्सालाई मान्यता दिन थालेपछि यसको प्रयोग बढ्दो क्रममा रहेको छ । विदेशमा रहेका नेपालीले समेत आफ्नो जग्गाको नक्सा अनलाइनमार्फत सजिलै प्राप्त गर्न सक्ने भएका छन् ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा ३५१ जनाले अनलाइनबाट नक्सा सेवा लिएका छन् भने अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ४०५ जनाले सेवा उपयोग गरेका थिए । प्रविधिको विस्तारसँगै आगामी दिनमा यो सेवा अझ प्रभावकारी र लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार