कीवर्डहरू -

यातायातको झन्झट घट्यो : लाइसेन्स छापिएको जानकारी नागरिक एपमै तुरुन्तै थाहा पाइने

यातायातको झन्झट घट्यो : लाइसेन्स छापिएको जानकारी नागरिक एपमै तुरुन्तै थाहा पाइने

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (क्यूआर कोडयुक्त ड्राइभिङ लाइसेन्स) तयार भयो वा भएन भन्ने जानकारी हेर्न नागरिकले कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । यो सेवा नागरिक एपमा उपलब्ध भएको छ ।

सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्सहरू क्रमश: सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन थालिएपछि एपमा नयाँ सुविधा थपिएको हो । भर्खरै सार्वजनिक गरिएको भर्सन २.०.९५ मा प्रयोगकर्ताले ‘सवारी चालक अनुमतिपत्र’ सेक्सनमार्फत आफ्नो कार्डको स्थिति जाँच गर्न सक्नेछन् ।

यदि लाइसेन्स छापिसकिएको छ भने एपमा स्पष्ट सन्देश देखिन्छ- 'तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस् ।' तर कार्ड अझै छापिएको छैन भने कुनै सूचना देखिँदैन ।

एपमा ‘छापिएको’ सूचना देखिएपछि सेवाग्राहीले आफैं उपस्थित भएर लाइसेन्स लिनुपर्नेछ । नयाँ लाइसेन्स लिनेहरूले राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा पेश गर्नुपर्छ भने नवीकरण गर्नेहरूले पुरानो लाइसेन्स साथमा लिएर जानुपर्ने व्यवस्था छ ।