कीवर्डहरू -

एप स्टोरको सुरक्षामाथि प्रश्न, एप्पलविरुद्ध अमेरिकामा सामूहिक मुद्दा

एप स्टोरको सुरक्षामाथि प्रश्न, एप्पलविरुद्ध अमेरिकामा सामूहिक मुद्दा

काठमाडौं । एप्पलको एप स्टोरमा उपलब्ध नक्कली क्रिप्टो वालेट एपका कारण ठूलो आर्थिक क्षति भएको दाबी गर्दै अमेरिकामा कम्पनीविरुद्ध कानुनी मुद्दा दायर गरिएको छ । मुद्दामा एप्पलले आफ्नो एप स्टोर सुरक्षित भएको दाबी गरेपनि प्रयोगकर्तालाई ठगीबाट जोगाउन आवश्यक सावधानी अपनाउन असफल भएको आरोप लगाइएको छ ।

अमेरिकाको उत्तरी क्यालिफोर्निया जिल्ला अदालतमा दर्ता गरिएको उजुरीअनुसार तीन जना आईफोन प्रयोगकर्ताले नक्कली स्प्यारो वालेट एप डाउनलोड गरेपछि संयुक्त रूपमा १८ लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको बिटक्वाइन गुमाएका छन् ।

उजुरीमा उल्लेख भएअनुसार स्प्यारो वालेटको आधिकारिक आईओएस संस्करण नै उपलब्ध नभएको अवस्थामा पनि सोही नाममा नक्कली एप एप स्टोरमा पुगेको थियो । प्रयोगकर्ताले त्यसलाई वास्तविक एप ठानेर आफ्नो डिजिटल सम्पत्ति स्थानान्तरण गर्दा ठूलो रकम गुमाउनुपरेको दाबी गरिएको छ ।

मुद्दामा जेम्स रामिरेजले करिब ८ लाख ७५ हजार अमेरिकी डलर, क्रिस्टोफर एलिसले करिब ८ लाख ४० हजार अमेरिकी डलर र जालेन डेलगाडोले करिब १ लाख २० हजार अमेरिकी डलर बराबरको बिटक्वाइन गुमाएको उल्लेख छ ।

उजुरीकर्ताहरूले एप्पलले एप स्टोरमा प्रकाशित हुने एपहरूको कडा समीक्षा गर्ने र प्रयोगकर्तालाई हानिकारक वा ठगीपूर्ण एपबाट सुरक्षित राख्ने दाबी गर्दै आए पनि व्यवहारमा त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् ।

मुद्दामा एप्पलले एप स्टोरमाथि पूर्ण नियन्त्रण कायम राख्दै तेस्रो पक्षका एप स्टोर र साइडलोडिङको विरोध गर्ने आधार पनि सुरक्षा नै बनाएको उल्लेख गरिएको छ । त्यसैले प्रयोगकर्ताले एप स्टोरमा उपलब्ध एप सुरक्षित हुने विश्वास गर्नु स्वाभाविक रहेको दाबी गरिएको छ ।

उजुरीमा स्प्यारो बिटक्वाइन वालेटका निर्माता क्रेग रलेले यसअघि पनि एप्पलको एप स्टोरमा नक्कली स्प्यारो वालेट एपहरू रहेको भन्दै सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेको विषय समेटिएको छ ।

उजुरीकर्ताले अदालतसँग आफूहरूले गुमाएको रकम, थप क्षतिपूर्ति तथा एप स्टोरमा रहेका सम्भावित जोखिमबारे प्रयोगकर्तालाई स्पष्ट चेतावनी दिने व्यवस्था गर्न आदेश जारी गर्न माग गरेका छन् ।

यता एप्पलले भने यस मुद्दामाथि सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेको छ । कम्पनीले अर्काको नक्कल गर्ने वा प्रयोगकर्तालाई भ्रममा पार्ने एपहरू आफ्ना नीतिविपरीत रहेको र त्यस्ता एप हटाउन निरन्तर कदम चालिरहेको जनाएको छ । साथै हाल एप स्टोरमा स्प्यारो वालेटको कुनै नक्कली एप नरहेको पनि कम्पनीले स्पष्ट पारेको छ ।

एप्पलका अनुसार सन् २०२५ मा मात्रै कम्पनीले नक्कली, स्पाम तथा प्रयोगकर्तालाई भ्रममा पार्न सक्ने ३ लाख ७१ हजारभन्दा बढी एप आवेदन एप स्टोरमा प्रकाशित हुनुअघि नै अस्वीकृत गरेको थियो ।