काठमाडौं । गुगलले आफ्नो गुगल इमेजेज (Google Images) लाई अझ व्यक्तिगत र आकर्षक बनाउने उद्देश्यका साथ नयाँ फिचरहरू सार्वजनिक गरेको छ । नयाँ अपडेटसँगै गुगल इमेजेजमा अब प्रयोगकर्ताको रुचिअनुसार फोटो देखिने ‘For You’ फिड थपिने भएको छ । साथै, प्रयोगकर्ताले सर्चमै एआईको सहायताले नयाँ तस्बिर पनि बनाउन सक्नेछन् ।
नयाँ ‘For You’ फिड लोकप्रिय सामाजिक सञ्जाल पिन्टरेस्ट (Pinterest) जस्तै हुनेछ । यसमा प्रयोगकर्ताले इन्टरनेटभरिका सम्बन्धित तस्बिरहरू निरन्तर स्क्रोल गर्दै नयाँ आइडिया र प्रेरणा प्राप्त गर्न सक्नेछन् । गुगलका अनुसार यो फिडमा रियल-टाइममा नयाँ तस्बिरहरू निरन्तर अपडेट भइरहनेछन् ।
फेसन, घर सजावट, कला तथा अन्य सिर्जनात्मक विषयमा प्रेरणा खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै गुगलले यो सुविधा ल्याएको हो । यससँगै Collections फिचरलाई पनि थप उपयोगी बनाइएको छ ।
प्रयोगकर्ताले आफूलाई मन परेका तस्बिरहरू विभिन्न फोल्डरमा वर्गीकरण गरेर सुरक्षित राख्न सक्नेछन् । यी कलेक्सनहरू मुख्य फोटो ग्यालेरीको माथिल्लो भागमा छुट्टै ट्याबका रूपमा देखिनेछन्, जसले पछि आवश्यक पर्दा सजिलै पुन: हेर्न सकिने सुविधा दिनेछ ।
गुगलका अनुसार यो नयाँ सुविधा प्रारम्भिक चरणमा अमेरिकाका डेस्कटप प्रयोगकर्ताका लागि अंग्रेजी भाषामा उपलब्ध हुनेछ । यसको प्रयोग गर्न भने प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्टमा लगइन गरेको हुनुपर्नेछ ।
यसैबीच, गुगलले एआई ओभरभ्यूज (AI Overviews) भित्रै नयाँ इमेज जेनेरेसन फिचर पनि थप्ने घोषणा गरेको छ । यदि इन्टरनेटमा आफूले खोजेजस्तो तस्बिर उपलब्ध नभएमा प्रयोगकर्ताले आफूले चाहेको विवरण लेखेर एआईमार्फत नयाँ तस्बिर सिर्जना गर्न सक्नेछन् ।
यो सुविधा गुगलको नयाँ Nano Banana एआई मोडेलमा आधारित हुनेछ, जसले पाठ (टेक्स्ट) लाई केही क्षणमै तस्बिरमा रूपान्तरण गर्नेछ । गुगलका अनुसार यो फिचरले कुनै स्थान, वस्तु वा अवधारणाको नयाँ स्वरूप कल्पना गर्न तथा आफ्ना सिर्जनात्मक आइडियालाई दृश्यरूपमा प्रस्तुत गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउनेछ ।
कम्पनीले एआई ओभरभ्यूजमा उपलब्ध हुने यो इमेज जेनेरेसन फिचर आगामी केही साताभित्र अंग्रेजी भाषामा सार्वजनिक गर्ने जनाएको छ । यो सुविधा हाल एआई मोडमा इमेज जेनेरेसन उपलब्ध भएका सबै क्षेत्रका प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।
आईसीटी समाचार