कीवर्डहरू -

युट्युबले एआईबाट बनाइएका भिडियो स्वत: पहिचान गरी लेबल गर्ने

युट्युबले एआईबाट बनाइएका भिडियो स्वत: पहिचान गरी लेबल गर्ने

काठमाडौं । युट्युबले प्रयोगकर्तालाई कुनै भिडियो जेनेरेटिभ एआई प्रयोग गरेर बनाइएको हो वा होइन भन्ने छुट्याउन सजिलो बनाउन नयाँ व्यवस्था ल्याउने भएको छ । प्लेटफर्मले यसअघि नै यथार्थजस्तै देखिने एआई सामाग्रीबारे जानकारी दिन सिर्जनकर्तालाई अनिवार्य गरिसकेको थियो ।

अब भने युट्युबले भिडियोहरू विश्लेषण गरेर एआईबाट सिर्जना गरिएको सामाग्रीको संकेत पहिचान गरी त्यसमा लेबल लगाउने तयारी गरेको छ । क्रिएटरले एआई प्रयोगबारे खुलासा नगरे पनि प्रणालीले “फोटोरियलिस्टिक एआई प्रयोग” फेला पारेमा भिडियोमा स्वत: एआई लेबल लगाइनेछ ।

गलत रूपमा लेबल लागेको अवस्थामा क्रिएटरले आफ्नो डिस्क्लोजर अपडेट गर्न सक्नेछन् । तर यदि भिडियो गूगलका एआई टुलहरू जस्तै Dream Screen वा Veo प्रयोग गरेर बनाइएको हो वा C2PA वाटरमार्क समावेश छ भने त्यस्तो एआई लेबल स्थायी रहनेछ र हटाउन सकिने छैन ।

यो लेबलले “फोटोरियलिस्टिक वा महत्वपूर्ण रूपमा एआईबाट बनाइएको वा परिवर्तन गरिएको सामाग्री” जनाउँछ । अब यो लेबल भिडियो प्लेयरको ठीक तल देखिनेछ भने Shorts भिडियोहरूमा ओभरलेका रूपमा देखाइनेछ, जसले दर्शकलाई एआई प्रयोग भएको सामाग्री सजिलै पहिचान गर्न मद्दत गर्नेछ ।

युट्युबमा एआई सामाग्रीबारे पारदर्शिता बढाइँदा प्रयोगकर्ताहरूले यसलाई स्वागत योग्य परिवर्तनका रूपमा लिएका छन्, विशेष गरी जेनरेटिभ एआई सामाग्रीबाट बच्न चाहनेहरूका लागि । प्रयोगकर्ताहरूले यस्तो एआई लेबल खोज परिणाम र सिफारिसहरूमा देखिने थम्बनेलमै पनि राखिए अझ सजिलो हुने सुझाव दिएका छन्, जसले एआई सामाग्री पहिचान गर्न र त्यस्ता भिडियोहरूबाट बच्न मद्दत गर्नेछ ।