काठमाडौं । Windows कम्प्युटरमा आवश्यक फाइल खोज्दा धेरै समय लाग्ने समस्या अब ‘Everything’ नामक नि:शुल्क एपले सजिलो बनाएको छ । हल्का र छिटो चल्ने यो एपले PC भित्रका फाइल र फोल्डरहरू टाइप गर्ना साथ तुरुन्तै देखाउँछ ।
सामान्य Windows Search जस्तो लामो समय कुर्नु नपर्ने भएकाले ‘Everything’ अहिले धेरै प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । यसले फाइल खोज्ने कामलाई छिटो, सहज र झन्झटरहित बनाउने बताइएको छ ।
कसरी काम गर्छ ‘Everything’ ?
‘Everything’ एपको मुख्य विशेषता यसको तीव्र गति हो । यो एप सुरु हुना साथ कम्प्युटरका फाइल नामहरू इन्डेक्स गर्छ । यही कारण प्रयोगकर्ताले केही अक्षर टाइप गर्ना साथ सम्पूर्ण ड्राइभभित्रका फाइलहरू सेकेन्डको अंशमै फेला पार्न सक्छन् ।
यसको डिजाइन पनि निकै सरल छ- एउटा सर्च बार र नतिजाको सूचीमार्फत सजिलै फाइल खोज्न सकिन्छ । आवश्यक परे एड्भान्स फिल्टर, वाइल्डकार्ड र सर्टिङ जस्ता सुविधा पनि उपलब्ध छन्, जसले खोजलाई अझ सटीक बनाउँछ ।
हल्का र प्रभावकारी टुल
यो एप निकै हल्का भएकाले कम्प्युटरको धेरै स्रोत प्रयोग गर्दैन र पृष्ठभूमिमा शान्त रूपमा चलिरहन्छ । यसलाई टास्कबारको आइकनमार्फत जुनसुकै बेला खोल्न सकिन्छ । प्रयोगकर्ताले Windows Search को सट्टा यसैलाई मुख्य सर्च टुलका रूपमा पनि प्रयोग गर्न सक्छन् ।
नियमित रूपमा PC मा फाइल खोज्ने प्रयोगकर्ताका लागि ‘Everything’ सानो तर अत्यन्त उपयोगी टुल हो । यसले फाइल खोज्ने समय बचत गर्दै कामलाई छिटो, सहज र प्रभावकारी बनाउँछ ।
आईसीटी समाचार