काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल क्यिरिङ हाउस लिमिटेड (NCHL) बीच राष्ट्रिय भुक्तानी स्विच (National Payment Switch – NPS) अन्तर्गत ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’ (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता भएको छ ।
आज आयोजित एक कार्यक्रमका बीच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) तिलक राज पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात् नेपाल बैंकले आफ्नो भुक्तानी स्विचलाई एनपीएस–एनसीएस (NPS-NCS) सँग पूर्ण रूपमा आवद्ध (इन्टीग्रेट) गरेपछि आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न तथा उक्त कार्डबाट हुने कारोबारहरू स्वीकार (Accept) गर्न सक्नेछ ।
एनसीएचएलले भर्खरै मात्र नेपालपे कार्डको व्यावसायिक सुरुवात गरेको हो । अन्तर्राष्ट्रिय नेटवर्क ‘डिस्कभर’ (Discover Network) सँगको सहकार्यका कारण यो कार्ड नेपालका साथै विश्वव्यापी रूपमा समेत प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
राष्ट्रिय भुक्तानी स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै आवद्ध बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (PSP) र भुक्तानी प्रणाली सञ्चालक (PSO) ले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशका एटीएम (ATM) र पीओएस (POS) टर्मिनलहरूमा सहजै चल्नेछन् । यसका साथै, भारतको ‘रुपे’ (RuPay) कार्ड र डिस्कभरका अन्य अन्तर्राष्ट्रिय कार्डहरू समेत नेपालका टर्मिनलहरूमा स्वीकार हुनेछन् ।
विभिन्न कार्ड स्विचहरू बीच अन्तर–आवद्धता (Interoperability) कायम गर्न र आन्तरिक कार्ड कारोबारको राउटिङ तथा फर्स्योट (Settlement) का लागि एनपीएस–एनसीएसलाई एक केन्द्रीय कार्ड स्विचका रूपमा स्थापना गरिएको हो ।
यो प्रणालीले स्वदेशी कार्ड कारोबारको लागत घटाउने, डेटा स्थानीयकरण (Data Localization) सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीन प्रविधिहरूको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
हालसम्म यो प्रणालीमा अन्य ३५ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरका रूपमा आवद्ध भइसकेका छन् । जसमध्ये ७ वटा बैंकले कार्ड जारी (Issuance) गर्न सुरु गरिसकेका छन् भने १० वटा बैंकले कार्ड स्वीकार गर्ने (Acquiring) सेवा दिइरहेका छन् । आगामी दिनमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा रहेको नेपाल बैंकले पछिल्लो समय डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । देशभर बलियो उपस्थिति रहेको यस बैंकले यो सम्झौतामार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक र सुरक्षित राष्ट्रिय कार्ड सेवा प्रदान गर्दै डिजिटल साक्षरता र पहुँचलाई थप उचाइमा पुर्याउने विश्वास लिएको छ ।
आईसीटी समाचार