कीवर्डहरू -

ह्वाट्सएप बिजनेसमा आयो एआई एजेन्ट, सेटअपदेखि व्यवस्थापनसम्म सहज

ह्वाट्सएप बिजनेसमा आयो एआई एजेन्ट, सेटअपदेखि व्यवस्थापनसम्म सहज

काठमाडौं । मेटाले नयाँ एआई सब्स्क्रिप्सन प्लानसँगै ह्वाट्सएप बिजनेस व्यवस्थापनमा एआई एजेन्ट प्रयोग गर्न सकिने घोषणा गरेको छ । अब प्रयोगकर्ताले आफूले रोजेको एआई एजेन्टमार्फत ह्वाट्सएप बिजनेसको मेसेजिङ सेटअप तथा व्यवस्थापन गर्न सक्नेछन् ।

मेटाका अनुसार, यसअघि ह्वाट्सएप बिजनेसमा मेसेजिङ सेटअप गर्न डेभलपरहरूले विभिन्न टुल र सेवाबीच पटक–पटक जानुपर्ने अवस्था थियो । अब भने आफूले रोजेको एआई एजेन्टसँग कुराकानी गर्दै आवश्यक काम बताएकै भरमा मेसेजिङ सेटअप गर्न सकिनेछ ।

यो सुविधा नयाँ ह्वाट्सएप बिजनेस टुल्स एमसीपी (MCP) मार्फत सम्भव भएको हो । एमसीपी एआईलाई बाह्य टुल तथा सेवासँग जोड्ने प्रोटोकल हो । यसले Claude, Cursor, Codex वा ChatGPT जस्ता एआई एजेन्टलाई ह्वाट्सएप बिजनेस प्लेटफर्मसँग सिधै जोडेर आवश्यक काम गर्न सक्षम बनाउँछ ।

यस कदमसँगै मेटाले विज्ञापन व्यवस्थापन, एप सेटिङ तथा अन्य सामाजिक प्रविधिका लागि उपलब्ध आफ्ना एमसीपी सर्भरहरू विस्तार गर्दै ह्वाट्सएप बिजनेसका लागि पनि नयाँ एमसीपी सर्भर थपेको छ । यसको उद्देश्य व्यवसायहरूलाई ह्वाट्सएपसँग जोडिन तथा आवश्यक सेवा सेटअप गर्न सहज बनाउनु हो ।

Github, Google र Microsoft लगायतका कम्पनीहरूले पनि एआई एजेन्टका लागि एमसीपी सर्भर उपलब्ध गराउँदै आएका छन् । मेटाका अनुसार, एआई एजेन्टले ह्वाट्सएप बिजनेस सेटअपका धेरै काम आफैं गर्न सक्छ । यसमा बिजनेस अकाउन्ट र फोन नम्बर सेटअप तथा प्रमाणीकरण, Cloud API मा दर्ता र Terms of Service को जाँचलगायतका काम पर्छन् ।

त्यसैगरी, एआई एजेन्टले मेसेजिङ टेम्प्लेट बनाउने वा सम्पादन गर्ने, सन्देश परीक्षण गर्ने तथा भुक्तानी विधि र Business Verification जस्ता प्रक्रियाको निगरानी गर्न पनि सहयोग गर्नेछ । मेटाका अनुसार, सेटअप तथा कन्फिगरेसनका क्रममा एमसीपीले API एन्डपोइन्ट खोज्न, आवश्यक कागजात हेर्न र देखिएका समस्या समाधान गर्न पनि सहयोग गर्नेछ ।