कीवर्डहरू -

एआईले केही सेकेन्डमै सामान्य पासवर्ड पत्ता लगाउन सक्छ, बलियो पासवर्ड यसरी राख्नुहोस्

एआईले केही सेकेन्डमै सामान्य पासवर्ड पत्ता लगाउन सक्छ, बलियो पासवर्ड यसरी राख्नुहोस्

काठमाडौं । पछिल्लो समय साइबर अपराधमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग हुने क्रम बढ्दै गएको छ । विशेष गरी पासवर्ड तोड्ने (क्र्याक गर्ने) प्रविधि एआईमार्फत झनै शक्तिशाली बनेको छ ।

विशेषज्ञहरूका अनुसार सामान्य पासवर्डहरू एआईले केही सेकेन्डमै अनुमान लगाउन सक्छ । यस कारण, बलियो पासवर्ड, दुई तहको प्रमाणीकरण र सुरक्षित इन्टरनेट प्रयोग गर्न विशेषज्ञहरूले सल्लाह दिएका छन् ।

सबैभन्दा पहिले बलियो पासवर्ड बनाउनुहोस्

पासवर्डमा केवल संख्यामा वा सानो अक्षरमा मात्र भर नपरौँ । ठूला र साना अक्षर, अंक र विशेष चिन्ह (@, &, !, # आदि) प्रयोग गरेर पासवर्ड बनाउनुपर्छ । जन्ममिति वा सार्वजनिक सूचनामा आधारित पासवर्ड कहिल्यै प्रयोग नगर्नुहोस् । विशेषज्ञहरूले कम्तिमा १७ वटा र्‍यान्डम अक्षरहरूको पासवर्ड प्रयोग गर्न सिफारिस गर्छन् ।

दुई तहको प्रमाणीकरण प्रयोग गर्नुहोस्

टू–फ्याक्टर अथेन्टिकेसन (2FA) वा मल्टि–फ्याक्टर अथेन्टिकेसन (MFA) ले पासवर्ड सुरक्षामा अतिरिक्त तह थप्छ । यसका लागि ईमेल, एसएमएस वा गूगल अथेन्टिकेटर, माइक्रोसफ्ट अथेन्टिकेटर जस्ता एपमार्फत कोड प्राप्त गर्न सकिन्छ । एसएमएसमार्फत पठाइने कोड अवरोध हुन सक्ने भएकाले एप प्रयोग गर्नु सुरक्षित हुन्छ ।

नियमित पासवर्ड परिवर्तन गर्ने बानी बसालौँ

९० दिनमा एक पटक पासवर्ड परिवर्तन गर्न सुझाइन्छ । एआईले पासवर्ड क्र्याक गर्न सक्ने भएकाले अहिले यो झनै महत्त्वपूर्ण भएको छ । साथै एउटै पासवर्ड धेरै खातामा प्रयोग गर्नु ठूलो जोखिम हुने भएकाले फरक–फरक खातामा फरक पासवर्ड राख्नु जरुरी छ ।

सार्वजनिक वाइफाइ प्रयोग गर्दा सावधान

पब्लिक वाइफाइ ह्याकरहरूको प्राथमिक लक्ष्य हुने भएकाले यस्तो नेटवर्क प्रयोग गर्दा डिजिटल कारोबार वा संवेदनशील खातामा लगइन नगर्नुहोस् ।

एआई पासवर्ड गेसर के हो ?

पहिलेका ह्याकिङ सफ्टवेयर सामान्य पासवर्ड डेटाबेसमा आधारित हुन्थे, तर एआई पासवर्ड गेसरले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर झनै छिटो र ठ्याक्कै अनुमान लगाउन सक्छ ।

एक अध्ययनअनुसार, १८ अक्षर लामो, ठूला साना अक्षर, अंक र विशेष चिन्ह मिलेको पासवर्ड एआईलाई अनुमान गर्न एक अर्ब वर्ष लाग्न सक्छ । भने सामान्य पासवर्डहरू एआईले एक मिनेटभन्दा कम समयमा सबैभन्दा धेरै प्रयोग हुने पासवर्डहरू अनुमान गर्न सक्छ ।