काठमाडौं । कल्पना गर्नुहोस्, तपाईंले एउटा नयाँ स्मार्टफोन किन्नुभयो र पछि थाहा भयो कि त्यो नक्कली रहेछ । यस्तो हुँदा जो-कोही पनि ठगिएको र निराश महसुस गर्छ । तपाईंलाई सुरक्षित राख्न हामीले केही तरिकाहरूको एउटा सजिलो गाइड तयार गरेका छौँ, जसबाट तपाईं नक्कली स्मार्टफोन र तिनका एक्सेसरीज पहिचान गरेर स्क्यामबाट बच्न सक्नुहुन्छ ।
मेथड १ : आईएमईआई नम्बर जाँच गर्नुहोस्
तपाईंको डिभाइस असली हो कि होइन भन्ने पुष्टि गर्ने सबैभन्दा सजिलो तरिका ब्रान्डको आधिकारिक वेबसाइटमा गएर यसको आईएमईआई नम्बर भेरिफाइ गर्नु हो । हरेक ब्रान्डको एउटा छुट्टै वेबपेज हुन्छ, जहाँ तपाईं आफ्नो डिभाइसको आईएमईआई नम्बर राखेर त्यससँग सम्बन्धित पूरा विवरण पाउन सक्नुहुन्छ ।
आईएमईआई नम्बर हरेक डिभाइसको एक युनिक पहिचान हो । तपाईले फोनको आईएमईआई नम्बर सजिलैसँग पत्ता लगाउन सक्नुहुन्छ । थाहा पाउनका लागि, तपाईले आफ्नो फोनको डायल प्याड मात्र प्रयोग गर्न सक्नुहुन्छ । तपाईले आफ्नो फोनको डायल प्याड खोल्नु पर्छ र यहाँ तपाईले स्टार ह्यास ०६ ह्यास (*#06# डायल गर्नुपर्नेछ, त्यसपछि तपाईको फोनको आईएमईआई नम्बर देखाइनेछ । वा तपाइँ तेस्रो पक्ष एप इन्स्टल गरेर पनि पत्ता लगाउन सक्नुहुन्छ जसले फोनको आन्तरिक हार्डवेयरको बारेमा जानकारी प्रदान गर्दछ ।
यो सबै फोनमा फरक फरक देखिन्छ, र सबैको आईएमईआई नम्बर पनि फरक छ । यसमा १५ अंकहरू हुने गर्दछ । यसको पूरा रूप “इन्टरनेस्नल मोबाइल इक्विमेन्ट आइडेन्टीटी“ हो जसलाई नेपालीमा “अन्तर्राष्ट्रिय मोबाइल डिभाइस पहिचान नम्बर“ भनिन्छ । यदि हालको फोनहरूको बारेमा कुरा गर्ने हो भने यो लगभग सबै फोनहरूमा उपलब्ध हुनेछ ।
आईएमईआई स्मार्टफोनको एक प्रकारको आइडेन्टिटी हो अर्थात् यो फोनको पहिचान हो, जसको माध्यमबाट हामीले त्यो फोनको बारेमा सबै जानकारी पाउन सक्छौं जस्तै फोन कुन मोडलको हो वा कुन कम्पनीको फोन हो आदि ।
अब तपाईंको डिभाइसको स्क्रिनमा देखिएको नम्बर र रिटेल बक्समा छापिएको नम्बर मिल्छ कि मिल्दैन भनेर जाँच गर्नुहोस् । त्यसबाहेक, फोनसँग आएको इन्वाइस पनि जाँच गर्नुपर्छ र त्यसमा लेखिएको आईएमईआई नम्बर पनि तपाईंको फोनको स्क्रिन र रिटेल बक्समा भएको नम्बरसँग पूर्ण रूपमा मिल्छ कि मिल्दैन भन्ने सुनिश्चित गर्नुपर्छ ।
आईएमईआई नम्बर भेरिफाइ गरेर तपाईं आफ्नो स्मार्टफोनबारे धेरै कुरा जान्न सक्नुहुन्छ । यदि आईएमईआई नम्बर हराएको छ वा फरक छ भने, स्मार्टफोन असली नहुन सक्ने सम्भावना निकै धेरै हुन्छ ।
मेथड २ : प्याकेजिङको आधारमा
प्याकेजिङको क्वालिटीबाटै प्रोडक्टबारे धेरै कुरा थाहा हुन्छ, विशेष गरी त्यो प्रोडक्ट असली हो कि नक्कली भन्ने । असली म्यानुफ्याक्चररबाट आउने नयाँ स्मार्टफोनको बक्समा बाकायदा सील, सिरियल नम्बर र सर्टिफिकेसन मार्क्स हुन्छन् । त्यसबाहेक, बक्सको गुणस्तरले पनि फरक देखाइदिन्छ; यो निकै मजबुत हुन्छ र खस्दा वा चिस्यान पर्दा पनि सजिलै बिग्रँदैन ।
अर्कोतर्फ, नक्कली स्मार्टफोनहरू प्रायः यस्ता डिब्बाहरूमा आउँछन्, जुन हेर्दा ठीकठाक लागे पनि त्यति मजबुत हुँदैनन् । त्यति मात्र होइन, बक्समा देखिने रङहरू प्रायः फिका हुन्छन्, र तपाईंले हिज्जे गल्ती वा धमिलो लोगो पनि देख्न सक्नुहुन्छ । साथै, धेरै पटक यसमा डिभाइसको आवश्यक वारन्टी विवरण पनि हराएको हुन्छ ।
मेथड ३: भरोसायोग्य सेलरबाट मात्र स्मार्टफोन किन्नुहोस्
नक्कली स्मार्टफोन किन्नबाट बच्ने अर्को सजिलो उपाय भनेको सधैं नयाँ डिभाइस भरोसायोग्य सेलर वा प्लेटफर्मबाट मात्र किन्नु हो । साथै, यदि तपाईं नयाँ डिभाइस किन्न ई-कमर्स प्रयोग गर्दै हुनुहुन्छ भने पनि अर्डर गर्नुअघि सेलरको विवरण अनिवार्य रूपमा जाँच गर्नुहोस् ।
जब तपाईं कुनै पसल वा स्टोरबाट डिभाइस किन्दै हुनुहुन्छ, तब अनलाइन चेक गरेर त्यो व्यापारी दर्ता भएको वा विश्वासिलो सेलर हो कि होइन भनेर हेर्न सक्नुहुन्छ । साथै, उनीहरूसँग प्यान नम्बर पनि माग्न सक्नुहुन्छ, ताकि उनीहरू डिभाइस बेच्न आधिकारिक छन् कि छैनन् भन्ने जाँच गर्न सकियोस् ।
यदि कसैले तपाईंलाई उचित प्यान बिल बिना डिभाइस बेच्ने प्रयास गर्छ भने, यो स्मार्टफोन नक्कली हुन सक्ने ठूलो रेड फ्ल्याग हो । प्यान रसिदसँगै तपाईंले ओरिजिनल परचेज रसिद र वारन्टी कार्ड पनि माग्नुपर्छ । अन्तिम कुरा के हो भने, यदि बजार मूल्यको तुलनामा फोनको मूल्य निकै कम छ भने, त्यो पनि प्रोडक्ट नकली हुन सक्ने ठूलो संकेत हो ।
मेथड ४: सफ्टवेयर र डिभाइसको परफर्मेन्स जाँच गर्नुहोस्
नक्कली स्मार्टफोनको दैनिक प्रयोगका क्रममा नै यसको कमजोर गुणस्तरका लक्षण देखिन थाल्छन्, जस्तै यी डिभाइसको सफ्टवेयर निकै ढिलो चल्न सक्छ, क्यामेरा कमजोर हुन सक्छ, ओभरहिटिङको समस्या आउन सक्छ वा बटनहरू खुकुलो हुन सक्छन् । साथै, जब तपाईं यसमा कुनै सामान्य एप चलाउने प्रयास गर्नुहुन्छ, तब ग्लिच देखिन सक्छ वा एपहरू आफैं बन्द हुन सक्छन् ।
त्यसबाहेक, आधिकारिक एन्ड्रोइड भर्सनजस्तै यी नक्कली स्मार्टफोनहरूले एन्ड्रोइडतर्फबाट आधिकारिक सेक्युरिटी प्याच वा सफ्टवेयर अपडेटहरू पाउँदैनन्, किनकि ती मोडिफाइड अपरेटिङ सिस्टममा चलिरहेका हुन्छन् । प्रयोगकर्ताहरूलाई आधिकारिक गुगल प्ले स्टोर बाट नयाँ एपहरू डाउनलोड गर्न पनि समस्या आउन सक्छ ।
आईसीटी समाचार