काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा मोबाइल अपरेटिङ सिस्टमको कार्यसम्पादन सुधार गर्नुका साथै एप्पल इन्टेलिजेन्स र सिरी एआई मार्फत कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सुविधाहरू विस्तार गर्ने योजना अघि सारेको छ ।
कम्पनीले यस वर्ष कुनै पनि आइफोन मोडेलको सफ्टवेयर समर्थन बन्द नगर्ने निर्णय गरेको छ । त्यसैले आईओएस २६ चलाउन सक्ने सबै आइफोन मोडेलहरूले आईओएस २७ को अपडेट प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसमा सात वर्षअघि सार्वजनिक भएको आइफोन ११ पनि समावेश छ ।
एप्पलका अनुसार आईओएस २७ मा गति र कार्यसम्पादनमा उल्लेखनीय सुधार गरिएको छ । नयाँ संस्करणमा एपहरू ३० प्रतिशतसम्म छिटो खुल्नेछन् भने सीपीयू व्यवस्थापन प्रणालीलाई पनि थप अनुकूल बनाइएको छ । यिनै सुधारका कारण पुरानो हार्डवेयर भएको आइफोन ११ मा समेत आईओएस २७ सहज रूपमा सञ्चालन गर्न सकिने विश्वास गरिएको छ ।
यद्यपि, एप्पल इन्टेलिजेन्स र नयाँ सिरी एआई जस्ता सबै एआई सुविधाहरू भने हरेक आइफोनमा उपलब्ध हुने छैनन् । यी सुविधाहरू प्रयोग गर्न कम्तीमा आइफोन १५ प्रो वा आइफोन १५ प्रो म्याक्स आवश्यक पर्ने बताइएको छ ।
सात वर्ष पुरानो आइफोन ११ लाई समेत आईओएस २७ को समर्थन उपलब्ध गराउने एप्पलको निर्णयलाई दीर्घकालीन सफ्टवेयर समर्थनको दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
आईसीटी समाचार