काठमाडौं । प्रत्येक तस्बिरको एउटा कथा हुन्छ । त्यसले उत्सव, रमाइलो, जीवनको कुनै विशेष क्षण वा कसैसँगको अन्तिम मुस्कान बोकेको हुन सक्छ । तर ती सबै यादहरू केही सेकेन्डमै हराउन सक्छन् यदि तपाईंले आफ्ना फोटो भिडियो सुरक्षित राख्ने सही तरिका अपनाउनु भएन भने ।
आज स्मार्टफोनले कुनै पनि क्षण कैद गर्न सजिलो बनाएको छ, तर तिनलाई दीर्घकालीन रूपमा सुरक्षित राख्नेबारे धेरैजसो मानिस लापरवाह छन् । पुराना दिनमा तस्बिर प्रिन्ट भएर फोटो एल्बममा राखिन्थ्यो, तर अहिले ती यादहरू हार्ड ड्राइभ वा क्लाउड सेवाहरूमा अनियमित रूपमा थन्किएका हुन्छन् । एक सानो गल्तीले ती यादहरू सधैंका लागि मेटिन सक्छन् ।
३-२-१ नियम
गूगल फोटोज, आईक्लाउड वा अमेजन फोटोज जस्ता सेवामा अपलोड गर्नु राम्रो सुरुवात भएपनि त्यो केवल एक प्रतिलिपि मात्र हो, र एक प्रतिलिपि कहिल्यै पर्याप्त हुँदैन ।
खाता ह्याक, लक वा सेवा प्रदायकको नीतिमा आएको परिवर्तनले वर्षौँका तस्बिर पलभरमै हराउन सक्छन् । यस्तै समस्याबाट जोगिन विशेषज्ञहरूले सिफारिस गर्ने 3-2-1 ब्याकअप नियम अत्यन्तै महत्वपूर्ण हुन्छ ।
3-2-1 नियममा तीन प्रतिलिपि हुन्छ, जसमा दुई प्रकारका भण्डारण माध्यम र एक प्रतिलिपि अफसाइट । उदाहरणका लागि, कम्प्युटरमा मुख्य लाइब्रेरी, बाहिरी हार्ड ड्राइभमा अर्को प्रतिलिपि र क्लाउडमा थप सुरक्षित कपी राख्दा कुनै एक माध्यम विफल भए पनि यादहरू सुरक्षित रहन्छन् ।
तर धेरैले सबै ब्याकअप एउटै ठाउँमा राख्ने गल्ती गर्छन् । आगलागी, चोरी वा अन्य दुर्घटनाले एकैचोटि सबै प्रतिलिपि नष्ट हुन सक्छन् । सन् २०२५ को विश्वव्यापी एडब्लुएस आउटेजले पनि एउटा मात्र स्थानमा भर पर्नु कति जोखिमपूर्ण हुन सक्छ भन्ने स्पष्ट देखाएको थियो ।
नियमित जाँच गर्ने बानी
त्यति मात्र होइन, मानिसहरूले बनाएका ब्याकअपले अझै काम गर्छ कि गर्दैन भन्ने नियमित जाँच नगर्ने बानीले पनि ठूलो क्षति निम्त्याउँछ । धेरैको अनुभव हुन्छ- वर्षौँसम्म नखोलेका बाहिरी ड्राइभ अचानक नचल्ने र बालबालिकाका तस्बिरहरूजस्ता अमूल्य यादहरू सधैँका लागि हराउने ।
यसबाहेक, यात्रा अघि फोनमा ठाउँ बनाउन भन्दै सबै तस्बिरहरू एकै फोल्डरमा राख्ने गल्ती पनि धेरैले गर्छन् । तस्बिर सुरक्षित त हुन्छन्, तर अव्यवस्थित ‘फोटो डम्प’ कहिल्यै नखुल्ने डिजिटल जंगल बन्न सक्छ । डिजिकाम जस्ता फोटो व्यवस्थापन उपकरणले यस समस्याबाट जोगिन मद्दत गर्न सक्छ ।
क्लाउड सेवाहरू स्वयं पनि स्थायी हुँदैनन् । सन् २०२४ मा गूगलले लाखौँ निष्क्रिय खाता हटाउँदा गूगल फोटोजमा रहेका यादहरू समेत सधैँका लागि हराएका थिए । त्यसैले समय समयमा क्लाउड खातामा लगइन गर्नु, सूचनाहरू हेर्नु र नियम परिवर्तनबारे सजग रहनु अति आवश्यक छ ।
अन्तत, फोटोहरू केवल फाइल होइनन, ती हाम्रो व्यक्तिगत इतिहासका पाना हुन् । एउटा गल्ती, एउटा बिग्रिएको ड्राइभ वा एउटा बिर्सिएको पासवर्डले दशकौँका यादहरू मेटिन सक्छन् । त्यसैले अब ढिला नगरी उचित योजना बनाउनुपर्छ ।
3-2-1 नियम अपनाउने, अटो–ब्याकअप प्रणाली सेट गर्ने, हरेक तीन महिनामा ब्याकअप परीक्षण गर्ने, अफसाइट–एन्क्रिप्टेड प्रतिलिपि राख्ने, र पुराना ड्राइभ समय–समयमा प्रतिस्थापन गर्ने जस्ता उपायले तपाईंका यादहरू दीर्घकालसम्म सुरक्षित राख्न सक्छन् ।
आजै एक घण्टा समय निकालेर आफ्नो ब्याकअप प्रणाली जाँच्नुहोस्, सानो कदमले पनि तपाईंका अमूल्य क्षणहरू सदाझैँ सुरक्षित राख्न सहयोग पुर्याउँछ ।
आईसीटी समाचार