काठमाडौं । गर्मी मौसममा वातावरणको उच्च तापक्रमले स्मार्टफोनको भित्री तापक्रम पनि बढाउने गर्दछ । लामो समयसम्म फोन अत्यधिक तात्दा ह्याङ्ग हुने, ब्याट्री छिट्टै सकिने, कार्यसम्पादन सुस्त हुने तथा हार्डवेयरमा समेत असर पर्ने जस्ता समस्या देखिन सक्छन् । यस्ता समस्या कम गर्न केही सामान्य सावधानी अपनाउनु आवश्यक हुन्छ ।
सबैभन्दा पहिले, स्मार्टफोनलाई लामो समयसम्म प्रत्यक्ष घाममा नराख्नुहोस् । घामको तापले फोनको तापक्रम तीव्र रूपमा बढाउँछ, जसका कारण फोनको कार्यसम्पादन प्रभावित हुन सक्छ । धेरै तातेपछि फोन आफैं सुस्त हुने वा केही समयका लागि काम गर्न छाड्ने सम्भावना पनि हुन्छ । त्यसैले फोनलाई सकेसम्म छायाँयुक्त र चिसो स्थानमा राख्नु उपयुक्त हुन्छ ।
फोनको स्क्रिनको ब्राइटनेस धेरै बढाउँदा पनि ब्याट्री र प्रोसेसरमा अतिरिक्त दबाब पर्छ, जसले गर्दा स्मार्टफोन छिट्टै तात्न सक्छ । यदि बाहिर घाममा फोन प्रयोग गर्नुपरेमा अनावश्यक रूपमा ब्राइटनेस बढाउनुको सट्टा एन्टि–ग्लेयर स्क्रिन प्रोटेक्टर प्रयोग गर्नु राम्रो विकल्प हुन सक्छ । यसले घाममा पनि स्क्रिन हेर्न सजिलो बनाउनुका साथै ब्याट्रीको खपत पनि कम गर्न मद्दत गर्छ ।
त्यसैगरी, प्रयोग गरिसकेपछि एपबाट बाहिर निस्कँदैमा ती पूर्ण रूपमा बन्द हुँदैनन् । धेरै एपहरू ब्याकग्राउन्डमा चलिरहन्छन्, जसले प्रोसेसर र र्याम प्रयोग गरिरहने भएकाले फोनको तापक्रम बढ्न सक्छ । त्यसैले आवश्यक नभएका एपहरू Recent Apps बाट पूर्ण रूपमा बन्द गर्नु उपयुक्त हुन्छ ।
यदि स्मार्टफोन अत्यधिक तातेको छ भने केही समयका लागि फोनको कभर हटाइदिनु पनि उपयोगी हुन्छ । धेरैजसो फोन कभरले ताप बाहिर निस्कन अवरोध गर्ने भएकाले फोन चिसिन समय लाग्न सक्छ । कभर हटाएपछि फोनको ताप छिट्टै बाहिर निस्कन मद्दत पुग्छ र तापक्रम सामान्य अवस्थामा फर्किन सक्छ ।
कतिपयले फोन छिटो चिसो बनाउन फ्रिज वा फ्रीजरमा राख्ने गल्ती पनि गर्छन् । तर यो तरिका सुरक्षित होइन । अचानक हुने तापक्रम परिवर्तनले फोनका भित्री कम्पोनेन्टमा असर पार्न सक्छ । साथै, चिस्यानका कारण फोनभित्र पानीका थोपा जम्ने जोखिम पनि हुन्छ, जसले हार्डवेयरमा क्षति पुर्याउन सक्छ । त्यसैले फोन धेरै तातेको अवस्थामा त्यसलाई प्राकृतिक रूपमा चिसिन दिनु नै सबैभन्दा सुरक्षित उपाय हो ।
यी सामान्य सावधानी अपनाउँदा स्मार्टफोन ओभरहिट हुने समस्या कम गर्न सकिन्छ । साथै, फोनलाई लामो समयसम्म राम्रो अवस्थामा सञ्चालन गर्न र यसको आयु बढाउन पनि यी उपाय प्रभावकारी मानिन्छन् ।
आईसीटी समाचार