काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म ‘इनड्राइभ’ले आफ्ना उत्कृष्ट चालकहरूलाई पुरस्कार वितरण गरेको छ । शुक्रबार काठमाडौंमा भएको प्लाटिनम ड्राइभर गिभअवे कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना प्लाटिनम श्रेणीका चालकहरूलाई कार, स्कुटरदेखि महँगा स्मार्टफोनसम्मका उपहारहरू प्रदान गरेको हो ।
यस वर्षको गिभअवेमा सबैभन्दा ठूलो पुरस्कार टाटा एक्सप्रेस-टी इलेक्ट्रिक कार पेशल बुढाथोकीले जित्न सफल भए । स-परिवार स्टेजमा पुगेका बुढाथोकीले कारको साँचो ग्रहण गर्दै आफ्नो खुसी व्यक्त गरेका थिए ।

यस्तै कम्पनीले उपहारमा लाग्ने सम्पूर्ण कर आफैँले बेहोरेका कारण विजेताले पूर्ण रूपमा निःशुल्क कार प्राप्त गरेका हुन् । कार्यक्रममा दुई जना भाग्यशाली राइडरहरूले याडियाको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।
स्कुटर जित्ने विजेता २१ वर्षीय साम्देन तामाङ अर्थात् कुन्साङ र सरोज खतिवडा हुन् । यसैगरी, १६ जना चालकहरूले सामसङका नयाँ स्मार्टफोनहरू प्रदान गरिएको थियो भने ४ जना चालकहरूलाई परिवारसहित ५ तारे रिसोर्टमा बस्ने स्टेकेसन प्याकेज उपहार दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भनिन्, ‘हामी हाम्रा चालक साथीहरूलाई केवल सेवा प्रदायक मात्र होइन, इनड्राइभ परिवारको अभिन्न अंग मान्छौं । उनीहरूको मेहेनतकै कारण इनड्राइभ आज नेपालको नम्बर १ राइड सेयरिङ एप बन्न सफल भएको हो ।’
त्यस्तै, सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले कम्पनीले हालै मात्र चालकहरूलाई प्रोत्साहन गर्न २७ लाख रुपैयाँ बराबरको इन्धन समेत वितरण गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘हामी हाम्रा ड्रानइभर्स पार्टनर्सहरु इनड्राइभका मुख्य आधार हुन् । उहाँहरूलाई सम्मान गर्नु हाम्रो दायित्व हो । यस पहलले चालकहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उहाँहरूको आयआर्जनमा सहयोग पुग्दा हामी उत्साहित छौं ।’
इनड्राइभका अनुसार यो पुरस्कार केवल भाग्यको आधारमा मात्र नभई चालकको कार्य सम्पादन, यात्रुहरूको रेटिङ र नियमको पालनाका आधारमा दिइने गरिन्छ । प्लाटिनम स्टाटस कायम राख्ने र उच्च गुणस्तरीय सेवा दिने चालकहरू मात्र यो प्रक्रियामा सहभागी हुन पाउँछन् ।

यस किसिमको प्रोत्साहनले चालकहरूमा थप उत्साह जगाएको छ भने आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।
आईसीटी समाचार