काठमाडौं । भन्सार प्रशासनलाई थप आधुनिक, पारदर्शी र तथ्यमा आधारित बनाउने उद्देश्यसहित भन्सार विभागले कस्टम्स भ्यालुएशन डाटाबेस सिस्टममा अन्तर्राष्ट्रिय बजार मूल्यसम्बन्धी सूचना समावेश गरेको छ । विभागले नयाँ प्रणालीलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउँदै आयातित वस्तुको मूल्यांकन प्रक्रियालाई थप विश्वसनीय बनाउने लक्ष्य लिएको जनाएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रणालीको उद्घाटन गर्दै भन्सार मूल्य निर्धारणमा एकरूपता, पारदर्शिता र प्रविधिको प्रयोग विस्तार गर्न यो प्रणाली उपयोगी हुने बताएका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा आधारित मूल्यांकन प्रणालीले व्यापारिक प्रक्रिया सहज बनाउन र राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
विभागले जारी गरेको जानकारीअनुसार जेठ ११ गतेदेखि लागू गरिएको प्रणालीमा अन्तर्राष्ट्रिय बजार मूल्यसम्बन्धी तथ्यांक समावेश गरिएको छ, जसका कारण भन्सार कार्यालयहरूले वस्तुको मूल्यांकन गर्दा थप यथार्थपरक आधार प्राप्त गर्नेछन् । यसले मूल्य कम देखाएर गरिने सम्भावित अनियमितता नियन्त्रण गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका उच्च अधिकारी, राजस्व प्रशासनका प्रतिनिधि, भन्सार विभागका पदाधिकारी तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विभागले यसलाई भन्सार प्रणालीको डिजिटलीकरण र संस्थागत सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ ।
यसअघि विभागले वैशाख ५ गते विराटनगर भन्सार कार्यालयबाट प्रणालीको परीक्षण सुरु गरेको थियो । प्रारम्भिक प्रयोगपछि वैशाख १८ गतेदेखि आधुनिकीकरण प्रणाली लागू भएका सबै भन्सार कार्यालयमा यसको विस्तार गरिएको जनाइएको छ ।
भन्सार विभागका अनुसार उक्त प्रणालीले विश्व व्यापार संगठन (WTO) अन्तर्गतको GATT Valuation सम्बन्धी प्रावधान कार्यान्वयनमा समेत सहयोग पुर्याउनेछ । साथै, पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारणलाई अधिक वैज्ञानिक, तथ्यपरक र विश्वसनीय बनाउँदै भन्सार प्रशासनमा सुशासन प्रवर्द्धन गर्ने विश्वास विभागले व्यक्त गरेको छ ।
आईसीटी समाचार