काठमाडौं । एकातिर एप्पलको फ्ल्यागशिप मोडल आइफोन १८ प्रो निकै चर्चामा छ भने अर्कोतर्फ नियमित आइफोन १८ र सस्तो आइफोन १८ ई सम्बन्धी पनि विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका छन् । यसपटक यी स्ट्यान्डर्ड मोडलहरूमा पनि केही महत्त्वपूर्ण अपग्रेड देख्न सकिने अपेक्षा गरिएको छ ।
आइफोन १८ र आइफोन १८ ई कहिले सार्वजनिक होलान् ?
रिपोर्टहरूका अनुसार स्ट्यान्डर्ड आइफोन १८ र आइफोन १८ई सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने सम्भावना छ । यी नयाँ पुस्ताका एप्पल डिभाइस हरू ए२० चिप र ९ जीबी र्यामसहित बजारमा आउने बताइएको छ ।
कागजमा हेर्दा यी अपग्रेड सामान्य देखिए पनि यसको मुख्य उद्देश्य एप्पल इन्टेलिजेन्सको कार्यसम्पादन अझ प्रभावकारी बनाउनु रहेको बताइएको छ, किनकि एआई अब आईओएसमा अझ गहिरो रूपमा समाहित हुँदै गएको छ ।
ए२० चिप भएका सस्ता आइफोनमा ९ जीबी र्याम
एप्पल विश्लेषक मिङ-ची कुओका अनुसार ए२० चिप प्रयोग हुने सन् २०२७ का सस्ता एप्पल आईफोन मोडलहरू ९ जीबी र्याममा आधारित हुनेछन् । उनले एक्समा गरेको पोस्टअनुसार यी फोनमा १.५ जीबी ६-डाइ मेमोरी कन्फिगरेसन प्रयोग गरिनेछ । यसले हालका ए१९ चिप भएका मोडलहरूमा रहेको ८ जीबी र्याम सेटअपलाई प्रतिस्थापन गर्नेछ ।
एप्पल इन्टेलिजेन्स अझ शक्तिशाली बन्ने
मिङ-ची कुओका अनुसार आईओएस २७ ले एप्पल इन्टेलिजेन्ससँग प्रणाली-स्तरमै अझ राम्रो इन्टिग्रेसन प्रदान गर्नेछ । उनले आफ्नो पोस्टमा लेखेका छन्, "मेरो पछिल्लो उद्योगसम्बन्धी जानकारीअनुसार ए२० चिप भएका सन् २०२७ को पहिलो छमाहीमा आउने सस्ता आईफोन मोडलहरू ९ जीबी डीआरएएममा अपग्रेड हुनेछन् ।"
हालका ए१९ आधारित मोडलहरूमा ८ जीबी र्याम मात्र उपलब्ध छ । एआई वर्कलोड का बेला प्रणालीलाई अझ सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न यो परिवर्तन गरिएको बताइएको छ ।
यद्यपि, सन् २०२६ को अन्त्यतिर सार्वजनिक हुने एप्पलका प्रिमियम मोडलहरूमा भने १२ जीबी र्याम नै रहने अपेक्षा गरिएको छ । यसमा आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स तथा कम्पनीको पहिलो फोल्डेबल आईफोन समावेश हुन सक्ने अनुमान गरिएको छ ।
आईसीटी समाचार