कीवर्डहरू -

महालक्ष्मी बैंकका डिजिटल प्रयोगकर्तालाई फाइदा, विभिन्न सेवामा २० प्रतिशतसम्म छुट

महालक्ष्मी बैंकका डिजिटल प्रयोगकर्तालाई फाइदा, विभिन्न सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता गरेको छ ।

बैंकका अनुसार सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरूले सम्बन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार चितवनको कुरिनटारस्थित मनकामना हिलक्रेस्ट होटलमा आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाइनेछ । त्यस्तै, ठमेलस्थित एलोफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

लाजिम्पाटस्थित एल्लो हात्तीमा उपहार सामग्री खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । बुद्धनगरस्थित अल्फा केयर डाइग्नोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यस्तै, कलंकीस्थित दृष्टि आई केयरमा नाक, कान, घाँटी तथा आँखा उपचारसँगै प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । दरबारमार्गस्थित ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाइनेछ भने हेटौँडास्थित होटल स्मारकमा आवास तथा खाना–पेय पदार्थ सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

यस प्रकारको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ ।