काठमाडौं । नेपालमा सूचना प्रविधि शिक्षाको इतिहास हेर्दा केही संस्थाहरूले मात्र समयसँगै आफ्नो पहिचानलाई बलियो बनाएका छन् । तीमध्ये एक हो, नेपाल कलेज अफ आईटी (एनसीआईटी)। सन् २००१ मा स्थापना भएको यो कलेज आज आईटी, इन्जिनियरिङ र व्यवस्थापन शिक्षाको प्रमुख गन्तव्यका रूपमा स्थापित छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एनसीआईटीमा हाल दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने सात हजारभन्दा बढी पूर्वविद्यार्थी (एलुम्नाई) विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत छन् । कलेजमा १० भन्दा बढी स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा छन् र १०० भन्दा बढी अनुभवी पूर्णकालीन तथा अतिथि प्राध्यापकहरू अध्यापनमा संलग्न छन् ।
विद्यार्थीको रुचिअनुसार फरक–फरक आईटी करियर
आईटी क्षेत्रको विस्तारसँगै करियरका अवसरहरू पनि विविध बन्दै गएका छन् । यही कारणले विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार विषय छनोट गर्नुपर्नेमा एनसीआईटीले जोड दिँदै आएको छ ।
कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलका अनुसार सफ्टवेयर विकास, कोडिङ र डिजिटल उत्पादन निर्माणमा रुचि भएका विद्यार्थीका लागि सफ्टवेयर इन्जिनियरिङ उपयुक्त विकल्प हो । कम्प्युटर प्रणालीको गहिरो अध्ययन, अनुसन्धान र नवीन प्रविधिको विकासमा रुचि राख्नेहरूका लागि कम्प्युटर इन्जिनियरिङ उपयुक्त बन्न सक्छ ।
त्यसैगरी नेटवर्किङ, डाटा सेन्टर, टेलिकम तथा इन्टरनेट सेवा प्रदायकसँग सम्बन्धित क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीका लागि आईटी इन्जिनियरिङ उपयोगी मानिन्छ । व्यवस्थापन र प्रविधिको संयोजन खोज्ने विद्यार्थीका लागि बीसीए आकर्षक विकल्प बनेको छ ।
एनसीआईटीमा हाल बीई कम्प्युटर इन्जिनियरिङ, बीई आईटी, बीई सफ्टवेयर, बीई सिभिल, बीसीए, बीबीए लगायतका स्नातक कार्यक्रम तथा एमई कम्प्युटर, एमएससी कम्प्युटर साइन्स, एमई कम्प्यूटर र एमसीआईएस जस्ता स्नातकोत्तर कार्यक्रम सञ्चालनमा छन् ।

कक्षा कोठाभन्दा बाहिरको सिकाइ
सूचना प्रविधि क्षेत्रमा केवल पाठ्यपुस्तकको ज्ञान पर्याप्त मानिँदैन । उद्योगले खोज्ने सीप विकासका लागि व्यवहारिक अभ्यास, परियोजना निर्माण र उद्योगसँगको सम्पर्क आवश्यक हुन्छ ।
यसैलाई ध्यानमा राख्दै एनसीआईटीले विभिन्न अन्तर्राष्ट्रिय एकेडेमीसँग सहकार्य गर्दै आएको छ । कलेज एडब्लुएस एकेडेमी, चेकपोइन्ट एकेडेमी, ओराकल एकेडेमी तथा एप्निक एकेडेमीसँग आबद्ध छ । विद्यार्थीहरूले नियमित पाठ्यक्रमसँगै प्रोफेसनल तालिम र अन्तर्राष्ट्रिय प्रमाणपत्रका अवसर प्राप्त गरिरहेका छन् ।
कलेजले विभिन्न सेमिनार, टेक्निकल प्रतियोगिता, प्रदर्शनी, रिसर्च सम्मेलन र टेक फेस्ट आयोजना गर्दै आएको छ । आगामी अन्तर्राष्ट्रिय सम्मेलनको तयारीले समेत कलेजको अनुसन्धानमुखी वातावरणलाई थप मजबुत बनाएको छ ।
अनुसन्धानबाट स्टार्टअपसम्म
नेपालका धेरै कलेजहरू अझै परम्परागत शिक्षामा केन्द्रित भइरहेका बेला एनसीआईटीले अनुसन्धान र उद्यमशीलतालाई समान प्राथमिकता दिएको छ ।
विगत ८/९ वर्षदेखि विद्यार्थी तथा शिक्षकका अनुसन्धानमूलक लेखहरू विभिन्न जर्नलमा प्रकाशित हुँदै आएका छन् । हाल कलेजले स्टार्टअप र इनोभेसनलाई संस्थागत रूपमा अघि बढाइरहेको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त एक करोड १५ लाख रुपैयाँको सहयोगमा सञ्चालन गरिएको उद्यमशीलता समर्थन कार्यक्रममार्फत केही विद्यार्थी स्टार्टअपहरूले सिड फण्डिंग प्राप्त गरिसकेका छन् । कलेजले स्थापना गरेको आईटी इन्क्युबेटरमार्फत विद्यार्थीलाई मेन्टरिङ, नेटवर्किङ र व्यवसाय विकासमा सहयोग गरिँदै आएको छ ।
विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको मार्गदर्शन उपलब्ध गराउन नेदरल्याण्ड्सस्थित संस्थासँग सहकार्य समेत गरिएको छ । कलेजका अनुसार हाल २० भन्दा बढी स्टार्टअपहरू विभिन्न चरणमा सञ्चालनमा छन् ।
पाँचौं सेमेस्टरदेखि नै इन्टर्नसिप
नेपालका धेरै विश्वविद्यालयमा अन्तिम सेमेस्टरमा मात्र इन्टर्नसिपको व्यवस्था हुने भएपनि एनसीआईटीका विद्यार्थीहरू पाँचौं वा छैटौं सेमेस्टरदेखि नै उद्योगसँग जोडिन थालेका छन् ।
कलेजले विद्यार्थीलाई प्रारम्भिक चरणदेखि नै परियोजना, प्रोफेसनल तालिम र उद्योगसँगको सम्पर्कमा जोड्ने भएकाले इन्टर्नसिप तथा रोजगारीका अवसर सहज हुने दाबी गर्छ ।
कलेजका विभिन्न उद्योग तथा कम्पनीसँगको सहकार्यले विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रको अनुभव दिलाउन मद्दत गरेको छ । माइक्रोसफ्ट, सिस्को, रेडह्याट लगायतका संस्थासँगको सहकार्य तथा विभिन्न कम्पनीहरूसँगको समझदारीले विद्यार्थीको रोजगारी क्षमता बढाएको कलेजको भनाइ छ ।
नतिजामा पनि अग्रस्थान
एनसीआईटीले केवल पूर्वाधार वा कार्यक्रम विस्तारमै होइन, शैक्षिक उपलब्धिमा पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । कलेजले हालसम्म चार वटा चान्सलर अवार्ड र तीन वटा भीसी गोल्ड मेडल प्राप्त गरिसकेको छ । पछिल्ला वर्षहरूमा कम्प्युटर, आईटी र सफ्टवेयर इन्जिनियरिङतर्फका उत्कृष्ट नतिजामा पनि कलेजका विद्यार्थीहरू अग्रस्थानमा रहेका छन् । कलेजका अनुसार प्रत्येक वर्ष उल्लेख्य सङ्ख्यामा विद्यार्थीले ४.० जीपीएसम्म हासिल गरिरहेका छन् ।
किन रोज्ने एनसीआईटी ?
आजको प्रतिस्पर्धी आईटी शिक्षामा केवल डिग्री प्राप्त गर्नु पर्याप्त छैन । उद्योगले खोजेको सीप, अनुसन्धान क्षमता, उद्यमशील सोच र व्यावसायिक नेटवर्क निर्माण गर्न सक्ने वातावरण आवश्यक छ ।
२४ वर्षभन्दा लामो अनुभव, ७ हजारभन्दा बढी एलुम्नाई नेटवर्क, अनुसन्धान र स्टार्टअपमैत्री वातावरण, उद्योगसँगको सहकार्य, अन्तर्राष्ट्रिय प्रमाणपत्रका अवसर तथा उत्कृष्ट शैक्षिक उपलब्धिका कारण एनसीआईटी आफूलाई नेपालको अग्रणी आईटी तथा इन्जिनियरिङ कलेजका रूपमा स्थापित गर्न सफल भएको देखिन्छ ।
नेपालको डिजिटल भविष्य निर्माण गर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको एनसीआईटी अब केवल एउटा कलेज होइन, नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताको इकोसिस्टम निर्माण गर्ने केन्द्र बन्ने यात्रामा देखिन्छ । स्नातक तहको इन्ट्रान्स परीक्षा २१ असार, २०८३ मा सञ्चालन हुनेछ ।
स्नेहा झा