काठमाडौं । सरकारले पठाओ–इनड्राइभ जस्ता राइड–सेयरिङ तथा राइड–हेलिङ सेवामा प्रयोग हुने सवारी साधनलाई कडाइका साथ नियमन गर्न नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको मस्यौदाअनुसार अब उत्पादन मितिले १५ वर्ष पुगेका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनले डिजिटल प्लेटफर्ममार्फत यात्रु बोक्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
सुरक्षालाई प्राथमिकतामा राख्दै सबै सवारीमा जीपीएस ट्र्याकिङ प्रणाली र प्रहरीसँग सिधा सम्पर्क हुने आपतकालीन (इमरजेन्सी) बटन अनिवार्य गर्ने तयारी गरिएको छ । साथै मोटरसाइकल सेवामा चालक र यात्रु दुवैका लागि हेलमेट प्रयोग अनिवार्य गरिनेछ ।
मस्यौदामा चालक सम्बन्धी मापदण्ड पनि कडा बनाइएको छ । चालक बन्नका लागि न्यूनतम १८ वर्ष उमेर पुगेको र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्नेछ ।
त्यस्तै आपराधिक पृष्ठभूमि नभएको, शारीरिक रूपमा स्वस्थ र लागू पदार्थ सेवन नगर्ने व्यक्तिलाई मात्र चालकका रूपमा आबद्ध गरिने प्रस्ताव गरिएको छ । सेवा प्रदायक कम्पनीहरूले आफ्ना चालकहरूको अनिवार्य जीवन बीमा गराउनुपर्ने र सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराउनु पर्ने सर्त राखिएको छ ।
सरकारले यी मापदण्डमार्फत राइड–सेयरिङ तथा राइड–हेलिङ सेवामा सुरक्षा, विश्वसनीयता र सेवा गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ ।
आईसीटी समाचार