कीवर्डहरू -

मोबाइल बैंकिङबाट क्यूआर भुक्तानी गर्दा स्वत: लक्की ड्रमा सहभागी, १० लाखसम्म जित्न सकिने

मोबाइल बैंकिङबाट क्यूआर भुक्तानी गर्दा स्वत: लक्की ड्रमा सहभागी, १० लाखसम्म जित्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउने उद्देश्यले मोबाइल बैंकिङ एपमार्फत हुने डिजिटल भुक्तानीलाई उक्त कार्यक्रमसँग जोडेको छ ।

बैंकका ग्राहकले कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत Merchant QR मा भुक्तानी गर्दा योग्य कारोबार स्वत: लक्की ड्रमा समावेश हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा विवरण अपलोड गर्नुपर्ने छैन ।

ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफूले गरेका योग्य कारोबारको संख्या तथा विवरण समेत हेर्न सक्नेछन् । यस व्यवस्थाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन ग्राहकलाई थप सहज बनाउने बैंकको विश्वास छ ।

आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको उक्त कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र गरिनेछ । जसअनुसार प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था रहेको छ ।

बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा PAN/VAT बिल लिन तथा सुरक्षित राख्न र आफूले गरेका योग्य कारोबारको विवरण नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।

बैंकका अनुसार डिजिटल भुक्तानीमार्फत कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै कर प्रणालीमा नागरिकको सहभागिता बढाउन समेत यस कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।