कीवर्डहरू -

राष्ट्र बैंकको निर्देशन : एटीएमदेखि मोबाइल बैंकिङसम्म अपाङ्गमैत्री सेवा अनिवार्य

राष्ट्र बैंकको निर्देशन : एटीएमदेखि मोबाइल बैंकिङसम्म अपाङ्गमैत्री सेवा अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गता भएका व्यक्तिमैत्री डिजिटल बैंकिङ सेवा सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ‘एकीकृत निर्देशन, २०८२’ संशोधन गर्दै बैंकहरूलाई वेबसाइट, मोबाइल बैंकिङ तथा एटीएम सेवा सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्न निर्देशन दिएको हो ।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट र मोबाइल बैंकिङ एप दृष्टिविहीन तथा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत सहज रूपमा प्रयोग गर्न मिल्ने गरी विकास गर्नुपर्नेछ ।

त्यस्तै, बैंकहरूले जारी गर्ने डेबिट र क्रेडिट कार्डमा ब्रेलमैत्री सुविधा अनिवार्य गरिएको छ । यसले दृष्टिविहीन सेवाग्राहीलाई कार्ड पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्तिले आफूले एटीएम, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा स्वयम् प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा त्यस्ता सेवा उपलब्ध गराउन बैंकहरूलाई निर्देशन दिएको छ ।

यसका साथै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा एटीएम लाउञ्ज भएका स्थानमा कम्तीमा एउटा अपाङ्गमैत्री एटीएम राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता एटीएममा ब्रेल संकेतयुक्त कन्ट्रोल बटन र अडियो सपोर्ट सुविधा अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले अपाङ्गमैत्री एटीएमको विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरेको छ । केन्द्रीय बैंकको यो कदमले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिको डिजिटल वित्तीय पहुँच विस्तार गर्न, बैंकिङ सेवा प्रयोगमा सहजता ल्याउन तथा आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।