काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट नियमित लगानीको सुविधा उपलब्ध गराउने उद्देश्यले सिटिजन्स क्यापिटल लिमिटेड सँगको सहकार्यमा सञ्चालन गर्दै आएको ‘सिटिजन्स सदाबहार योजना (एसआईपी)’ मा अब बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङमार्फत नै आवेदन दिन सकिने व्यवस्था सुरु गरेको छ ।
बैंकका अनुसार ग्राहकले डिजिबैंक सेवामार्फत बैंकको वेबसाइट वा मोबाइल बैंकिङ प्रयोग गरेर प्रत्यक्ष रूपमा एसआईपी आवेदन दर्ता गरी नियमित लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । यस व्यवस्थाले आवेदन प्रक्रिया थप सरल, छिटो र सुरक्षित बनाउनुका साथै ग्राहकलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न अझ सहज हुने बैंकको विश्वास छ ।
बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तारलाई तीव्रता दिँदै विभिन्न नवीन सेवा सञ्चालनमा ल्याएको छ । यसअघि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो ।
त्यसैगरी, युवा लक्षित ‘सिटिजन्स जेनजी बचत खाता’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइसकेको छ । बैंकले स्वतन्त्र रूपमा काम गर्ने पेशाकर्मी (फ्रिलान्सर) लाई लक्षित गर्दै ‘फ्रिलान्सर बचत खाता’ पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका अनुसार नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन (केन्द्रीय दर्ता नम्बर) सेवा लिन सकिने सुविधा उपलब्ध गराइएको छ । साथै क्रस बैंक टेलर सेवा अन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइ मार्फत २० लाख ३७ हजारभन्दा बढी ग्राहक लाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
आईसीटी समाचार