काठमाडौं । लोकप्रिय अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले एआई एजेन्ट प्रयोग गरेर व्यक्तिगत पोडकास्ट बनाउन सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ । कम्पनीले हालै एउटा कमाण्ड लाइन टुल सार्वजनिक गरेको हो, जसले Claude Code र OpenClaw जस्ता एआई एजेन्टमार्फत सामाग्री तयार गरी सीधै स्पोटिफाइमा अपलोड गर्न अनुमति दिन्छ ।
कम्पनीका अनुसार यो फिचर विशेष गरी दैनिक समाचार सारांश, कक्षा नोट्स तथा अन्य टेक्स्ट सामाग्रीलाई अडियो पोडकास्टमा रूपान्तरण गर्न उपयोगी हुनेछ । स्पोटिफाइले प्रयोगकर्ताहरूबाट एआईद्वारा तयार गरिएका व्यक्तिगत पोडकास्ट सुन्न सकिने सुविधा माग भइरहेकाले यो टुल सार्वजनिक गरिएको जनाएको छ ।
यद्यपि, केही प्रयोगकर्ताहरूले भने यो सुविधा सुरुवातमा कम्पनीका कुनै इन्जिनियरले व्यक्तिगत प्रयोगका लागि बनाएको र पछि सार्वजनिक गरिएको हुन सक्ने अनुमान गरेका छन् । यो सुविधा प्रयोग गर्न चाहनेहरूले स्पोटिफाइको GitHub पेजमार्फत टुल सेटअप गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताले एआईलाई आफूले चाहेको पोडकास्टको विषय दिन सक्छन् र स्पोटिफाइमा सेभ गर्न भन्नुहोस् ।
पोडकास्ट तयार भएपछि प्रयोगकर्ताले आफ्नो स्पोटिफाइ लाइब्रेरीमा गएर उक्त सामाग्री सुन्न सक्नेछन् । कम्पनीका अनुसार हाल यो सुविधा मार्फत बनाइएका पोडकास्ट निजी (private) हुनेछन् र ती केवल सम्बन्धित प्रयोगकर्ताले मात्र सुन्न सक्नेछन् ।
आईसीटी समाचार