कीवर्डहरू -

मौसमको अवस्था अब अझ सूक्ष्म रूपमा थाहा पाइने, गुगलले ल्यायो नयाँ एआई

मौसमको अवस्था अब अझ सूक्ष्म रूपमा थाहा पाइने, गुगलले ल्यायो नयाँ एआई

काठमाडौं । मौसम कहिले र कति छिटो परिवर्तन हुन्छ भन्ने पूर्वानुमान गर्नु सधैँ सहज हुँदैन । केही किलोमिटरको दूरीमै तापक्रममा ठूलो अन्तर देखिन सक्छ । त्यसमाथि अचानक हुने वर्षा, तीव्र हावाहुरीलगायतका मौसमी घटनाले केही समयमै मौसमको अवस्था परिवर्तन गर्न सक्छन् ।

यस्तो अवस्थामा सही र समयमै प्राप्त हुने मौसमसम्बन्धी जानकारी दैनिक योजना बनाउन मात्र नभई कृषि, विद्युत् उत्पादन तथा प्रतिकूल मौसमबाट हुने जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि समेत महत्वपूर्ण हुन्छ ।

यही आवश्यकतालाई ध्यानमा राख्दै गुगल डिपमाइन्ड र गुगल रिसर्चले ३ सेप्टेम्बरमा नयाँ एआई मोडल ‘वेदर नेक्स्ट ३’ सार्वजनिक गरेका छन् । गुगलका अनुसार यो हालसम्मकै उन्नत विश्वव्यापी मौसम पूर्वानुमान एआई मोडल हो । यसले भू-स्थिर उपग्रहबाट प्राप्त तथ्याङ्क प्रयोग गर्दै हरेक घण्टा नयाँ मौसम पूर्वानुमान तयार गर्न सक्छ ।

यसअघि सार्वजनिक गरिएको ‘वेदर नेक्स्ट २’ ले २५ किलोमिटरको ग्रिडमा हरेक ६ घण्टामा मौसम पूर्वानुमान उपलब्ध गराउँथ्यो । तर नयाँ मोडलले मौसमको अवस्था अझ सूक्ष्म रूपमा विश्लेषण गर्न सक्ने गरी रिजोल्युसनमा उल्लेखनीय सुधार गरेको गुगलको दाबी छ ।

पाँच किलोमिटर रिजोल्युसनमा मौसमको अवस्था
‘वेदर नेक्स्ट ३’ ले सतहस्तरका प्रमुख मौसमी तथ्याङ्क ५ किलोमिटरको रिजोल्युसनमा उपलब्ध गराउँछ । अन्य सतहसम्बन्धी तथ्याङ्कका लागि १० किलोमिटर तथा वायुमण्डलीय तथ्याङ्कका लागि २५ किलोमिटरको रिजोल्युसन प्रयोग गरिएको छ ।

गुगलका अनुसार यस सुधारका कारण विश्वव्यापी मौसमको अवस्थालाई अघिल्लो मोडलको तुलनामा करिब पाँच गुणा बढी स्पष्ट रूपमा विश्लेषण गर्न सकिन्छ । विशेष गरी छोटो समयमा तीव्र रूपमा परिवर्तन हुने वर्षाजस्ता मौसमी घटनाको पूर्वानुमान गर्न ‘वेदर नेक्स्ट ३’ लाई अनुकूलित गरिएको छ । यस मोडललाई नासाको IMERG तथा उपग्रह र राडारमा आधारित विश्वव्यापी वर्षासम्बन्धी तथ्याङ्क प्रयोग गरेर प्रशिक्षण दिइएको गुगलले जनाएको छ ।

ब्राइटब्यान्डका अनुसार, मध्यम-अवधिको मौसम पूर्वानुमानमा ‘वेदर नेक्स्ट’ ले IMERG तथा उपग्रहमा आधारित पूर्वानुमानको तुलनामा ६० प्रतिशतसम्म सुधारिएको नतिजा दिएको छ । त्यस्तै, MRMS को तुलनामा ३० प्रतिशतसम्म सुधार देखिएको तथा प्रारम्भिक चरणको पूर्वानुमानमा ‘रेन गेज’को तथ्याङ्कभन्दा १० प्रतिशतसम्म राम्रो प्रदर्शन गरेको दाबी गरिएको छ ।

हावा र सौर्य ऊर्जाको उत्पादनमा पनि उपयोग
‘वेदर नेक्स्ट ३’ को प्रयोग मौसम पूर्वानुमानमा मात्र सीमित नरहने गुगलको भनाइ छ । यसले १०० मिटरको उचाइमा हावाको गति अनुमान गर्न सक्ने भएकाले वायु ऊर्जा उत्पादनको सम्भावित क्षमता आकलन गर्न समेत सहयोग पुर्‍याउनेछ ।

त्यसैगरी, मोडलले उच्च रिजोल्युसनमा बादलको अवस्था र सौर्य विकिरणको स्तरको पूर्वानुमान गर्न सक्छ । यसले सौर्य ऊर्जा फार्म सञ्चालकलाई निश्चित समयमा सम्भावित ऊर्जा उत्पादन कति हुन सक्छ भन्ने अनुमान गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

सर्चदेखि गुगल अर्थ इन्जिनसम्म प्रयोग
गुगलले ‘वेदर नेक्स्ट ३’ लाई आफ्ना विभिन्न सेवा तथा प्लेटफर्ममा प्रयोगमा ल्याउन थालेको जनाएको छ । यसमा गुगल सर्च, जेमिनी एप, गुगल म्याप्स, गुगल म्याप्स प्लेटफर्म वेदर एपीआई तथा गुगल अर्थ इन्जिन लगायत रहेका छन् ।

यसका साथै, बिगक्वेरी, अर्थ इन्जिन र गुगल क्लाउड स्टोरेज मार्फत विकासकर्ता, अनुसन्धानकर्ता तथा व्यावसायिक प्रयोगकर्ताका लागि मौसमसम्बन्धी तथ्याङ्क उपलब्ध गराउन थालिएको गुगलले जनाएको छ ।

गुगलका अनुसार ‘वेदर नेक्स्ट ३’ विशेष गरी ल्याटिन अमेरिका, अफ्रिका तथा एसिया–प्रशान्त क्षेत्र जस्ता मौसम तथा भौगोलिक चुनौती बढी भएका क्षेत्रका लागि महत्वपूर्ण हुन सक्छ । उच्च रिजोल्युसन र छिटो पूर्वानुमान क्षमताले विपद् पूर्वतयारी, कृषि, ऊर्जा तथा अन्य मौसममा निर्भर क्षेत्रका लागि थप उपयोगी सूचना उपलब्ध गराउने अपेक्षा गरिएको छ ।