कीवर्डहरू -

अन्तर्वाता/विचार

नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा

नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको साइबर सुरक्षाका विषयमा थुप्रै प्रश्न उठ्ने गरेका छन् । एनआइसी एसिया बैंकको स्विफ्ट प्रणाली ह्याक गरेर रकम स्थानान्तरण भएको तथ्य बाहिर आएपछि यस विषयमा अझ धेरै चासो बढेको छ । नेपालको बैंकिङ क्षेत्रमा यस्ता साइबर हमला वेला–वेला हुने गरेको साइबार सुरक्षाविज्ञ राजनराज पन्त बताउँछन् । आइटी सर्ट नेपालका अध्यक्षसमेत रहेका पन्तले नेपालको बैंकिङ क्षेत्रमा विद्यमान साइबर सुरक्षाको सवाल यसरी औँल्याए :

बैंकमा साइबर हमला

सूचना प्रविधि वा जुनसुकै क्षेत्र पनि पूर्ण रूपमा जोखिमरहित हुन्छ भन्ने छैन । केही–केही जोखिम रहेकै हुन्छ । हरेक क्षेत्रमा चुनौती र जोखिम दुवै हुन्छ । कतिपय देखिन्छन्, कतिपय एक्कासि आइपर्छन् । यस्ता चुनौतीप्रति सचेत हुनु र सम्भावित जोखिम रोक्ने प्रयास गर्नु जुनसुकै क्षेत्रका संघसंस्था तथा कम्पनीको मुख्य दायित्व हुन आउँछ । पछिल्लो समय नेपालका बैैंक तथा वित्तीय संस्थामा पनि साइबर हमला बढिरहेको छ । यसका धेरै रूप छन् । बैंक तथा वित्तीय क्षेत्र आधुनिक बन्दै जाँदा जति त्यसले सहजता ल्याएको छ, त्यति नै जोखिम र चुनौती पनि बढाएको छ । सिस्टम ह्याक, एटिएमबाट फर्ड, मोबाइल तथा इन्टरनेटबाट पैसा स्थानान्तरण तथा चोरीलगायत थुप्रै साइबर हमला भइरहेको छ । यस्ता साइबर हमलाप्रति बैंक तथा वित्तीय संस्था र नियामक निकाय नेपाल राष्ट्र बैंक सचेत हुनुपर्छ ।

कसरी हुन्छ साइबर हमला ? 

हाम्रा बैंक तथा वित्तीय संस्थाले आफ्नो साइबर सुरक्षामा आवश्यकताअनुसार ध्यान दिन सकेका छैनन् । धेरै कमी–कमजोरी छन् । अनि यस्ता कमी–कमजोरी पहिल्याएर साइबर हमला हुन्छ । ह्याकरको काम नै ‘लुप होल’ खोज्नु हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको बैंक तथा वित्तीय संस्थाले आफ्नो सूचना प्रविधिको अडिट राम्रोसँग गर्दैनन् । राष्ट्र बैंकले आइटी अडिटलाई बाध्यकारी बनाएको छ । तर, त्यसको कार्यान्वयन फितलो छ । कतिपय अवस्थामा कर्मचारीकै मिलोमतो पनि देखिन्छ । त्यसो त राष्ट्र बैंकले पनि नियमित निरीक्षण र अनुगमन गर्दैन । कुनै पनि बैंक तथा वित्तीय संस्थासँग स्वतन्त्र अडिटर पनि हुँदैनन् । सुरक्षाका सबै संयन्त्रको उचित प्रयोग भएका छैनन् । साइबर सुरक्षाका ममलामा सचेतना पनि कमजोर छ । यसले गर्दा बैंक तथा वित्तीय संस्था र अन्य निकायमा समेत साइबर हमला भइरहेका छन् ।

स्तरीय अडिटको आवश्यकता

राष्ट्र बैंकले आइटीको अडिटलाई बाध्यकारी बनाएपछि बैंक तथा वित्तीय संस्थाले वार्षिक रूपमा आफ्नो आइटीको अडिट गर्छन् । तर, अडिट फितलो हुन्छ । अडिट गर्नेको पनि क्षमतामा प्रश्न उठ्छ । २–३ लाख रुपैयाँमा अडिट गर्नेहरू पनि छन् भने अडिटकै लागि ५० लाख लिने पनि छन् । यसर्थ, स्थापित कम्पनीबाट स्तरीय अडिट गराउनुपर्छ । आइटी अडिट गराउने भन्नाले भाइरस भए–नभएको वा सर्भर ठीक भए–नभएको मात्रै अडिट गराउने होइन । सर्भर, नेटवर्क, डिभाइस, काम गर्ने कर्मचारी, सफ्टवेयर, त्यसका सञ्चालक सबै ठीक छन्–छैनन् हेर्नुपर्छ । चेक लिस्ट बनाएर अडिट गराउनुपर्छ । अडिट पनि वर्षमा एकपटक मात्रै हुन्छ, जुन गलत हो । कम्तीमा तीन महिनामा एकपटक सूचना प्रविधिको अडिट पनि गराउनैपर्छ । यसले तीन महिनासम्मलाई ढुक्क बनाउँछ ।

कर्मचारीप्रति सचेत

साइबर सुरक्षाका विषयमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी पनि धेरै जोडिने गरेका छन् । एटिएम, मोबाइल तथा इन्टरनेटलगायत माध्यमबाट हुने चोरीमा कतिपय अवस्थामा कर्मचारीकै संलग्नता पनि देखिने गरेको छ । यसो भन्दैमा सबै कर्मचारीलाई दोष लगाएको होइन । खासगरी बैंक तथा वित्तीय संस्थाको आइटी विभागमा काम गर्ने र केही जिम्मेवार तहका कर्मचारीप्रति सचेत हुनुपर्छ । उनीहरूलाई तालिम दिनु त छँदै छ, वेला–वेला निगरानीमा पनि राख्नुपर्छ । कहाँ जान्छ ? कोसँग संगत गर्छ ? कस्तो छ जीवनस्तर ? यस्था विषयमा ध्यान दिनुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट जागिर छाडिसकेपछि पनि उनीहरूलाई निश्चित समयसम्म निगरानीमा राख्नुपर्छ । सूचना प्रविधिलाई मात्रै चुस्त र सुरक्षित बनाएर हुँदैन, कर्मचारी र सरोकारवालाको नियतलाई पनि ध्यानमा राख्नुपर्छ ।

साइबर सुरक्षामा लगानी बढाऔँ

साइबर सुरक्षाका लागि नेपालमा बैंक तथा वित्तीय संस्थाले मात्रै होइन, अन्य कम्पनी तथा संघसंस्थाले पनि आवश्यक मात्रामा लगानी गरेको देखिँदैन । साइबर सुरक्षा वास्तवमै महत्वपूर्ण र चुनौतीपूर्ण छ । यसप्रति सचेत हुनैपर्छ, त्यसैले यसमा लगानीका लागि हिचकिचाउनुहुँदैन । राम्रो लगानी गरेर स्तरीय अडिट गराउनुपर्छ । आइटीमा कर्मचारी धेरै राख्नुपर्छ । स्वतन्त्र आइटीविज्ञ पनि राख्नुपर्छ । डिभाइस, सफ्टवेयर तथा नेटवर्क पनि स्तरीय प्रयोग गर्नुपर्छ । यस्ता काममा खर्च गर्न कन्जुस्याइँ गर्नुहुँदैन । आफ्ना कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्छ ।

राष्ट्र बैंकको भूमिका

राष्ट्र बैंक नियामक निकाय हो । यसले नीति निर्माण गरेर कार्यान्वयन गराउँछ । बैंक तथा वित्तीय संस्थामा साइबर सुरक्षा कायम गराउन पनि राष्ट्र बैंकले नीति बनाएको छ । अडिट गर्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यसको कार्यान्वयन फितलो छ । राष्ट्र बैंकले साइबर सुरक्षाका मामलामा पनि नियमति अनुगमन र निरीक्षण गराउनुपर्छ । साइबार सुरक्षाप्रति बैंक तथा वित्तीय संस्थाको ध्यान बढी केन्द्रित गराउनुपर्छ । परम्परागत र साधारण अडिट गर्ने प्रक्रिया रोकेर गुणस्तरीय अडिट गराउनुपर्छ । राष्ट्र बैंकले पनि एउटा विज्ञको समूह बनाउनुपर्छ । साइबर सुरक्षाप्रति आफू पनि सचेत भएर बैंक तथा वित्तीय संस्थालाई उच्च सतर्कता अपनाउन लगाउनुपर्छ ।

घटनाबाट पाठ सिक्ने

साइबर हमला पटक–पटक भइरहेका छन् । नेपालमा मात्रै होइन, विश्वमै यस्ता घटना भइरहेका हुन्छन् । यस्ता घटनाबाट सरोकारवालाले पाठ सिक्नुपर्छ । हाम्रोमा कुनै घटना भयो, त्यसको समाधान गर्‍यो अनि चुप लागेर बस्ने प्रवृत्ति छ । तर, त्यस घटनाबाट पाठ सिक्दै सम्भावित अर्को घटना रोक्न वा जोखिम न्यूनीकरणमा हाम्रो ध्यान कम गइरहेको छ । अहिले एनआइसी बैंकमा जसरी हमला भयो, त्यसरी नै अन्य बैंकमा पनि हुन सक्छ । यसप्रति एनआइसी मात्रै होइन, अन्य बैंक तथा वित्तीय संस्था पनि सचेत हुनुपर्छ । नेपाल र नेपालबाहिर भएका साइबर हमला र साइबर सुरक्षा विषयलाई नेपालका बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीले पनि ‘लेसन–लर्न’का रूपमा लिनुपर्छ ।

ज्ञान र अनुभव साटासाट

मुलुकमा थुप्रै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सञ्चालनमा छन् । ती बैंक तथा वित्तीय संस्थाका आ–आफ्नै साइबर सुरक्षा नीति हुन्छन् । त्यस्तै, प्रविधि हेर्ने कर्मचारीको ज्ञान र अनुभव पनि फरक–फरक हुन्छन् । यसर्थ, यहाँका बैंक तथा वित्तीय संस्थाले साइबर सुरक्षाका मामलामा हातेमालो गर्नुपर्छ । एक–अर्काको ज्ञान र अनुभवलाई साटासाट गर्नुपर्छ । अहिले एनआइसीमा कसरी हमला भएको रहेछ ? कसरी समस्याको समाधान गरियो ? कमजोरी के थियो ? अब समस्या नओस् भनेर एनआइसीले के ग¥यो ? यस्ता अनुभव एनआइसीले अन्य बैंकसँग साटासाट गर्नुपर्छ । अन्य बैंकले पनि सिक्नुपर्छ ।

स्रोत : नयाँ पत्रिका दैनिक

अन्तर्वाता/विचार

क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २९ देखि…

दूरसञ्चारको क्षेत्रमा स्पष्ट परिवर्तन देखिने गरी काम गरेका छौं : अध्यक्ष झा

दिगम्बर झा नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन् । २०६९ मंसिर २९ मा अध्यक्षमा नियुक्त भएका उनीविरुद्ध अध्यक्षका ल…

प्राविधिक शिक्षा पढ्न कस्तो कलेज छान्ने ?

काठमाडौं । नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्षा क्षेत्रमा देखिएको बेथिति र भड्किलो शिक्षा प्रणालीका कारण धैरै…

खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस

गुरु शर्मा
प्रवन्ध निर्देशक, मोवाइल क्लब

खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस

गुरु शर्मा
प्रवन्ध निर्देशक, मोवाइल क्लब

नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठलाइ नाइजेरियामा बिशेष सम्मान

काठमाडौँ – नेपाल खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष रामराजा श्रेष्ठ पश्चीम अफ्रिकी मुलुक नाईजेरियामा हुन गईरहेको कार्याक्रम मा जाँदै हुनुहुन्छ जहाँ विश्…

इथिकल ह्याकर अर्विन गोदार भन्छन्– ‘नेपालमा बग बाउन्टी प्रोग्रामकाे कल्चर नै छैन’

‘ह्याकिङ’ शब्द सुन्नेबित्तिकै धेरै नेपालीले अझै ‘अपराध’ र ‘नराम्रो’ भनेरै बुझ्छन् । अरु प्रकृतिका अपराधीभन्दा ह्याकर अझै खतरनाक हुन् भन्ने सोच उनीहरुको छ । …

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो कम्प्यूटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्की साखाको आयोजनामा तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी समितीको सह–आयोज…