कीवर्डहरू -

एन्ड्रोइड १७ मा अझ बलियो हुँदै लक स्क्रिन सुरक्षा, गलत पिन धेरै पटक हाल्दा फोन लामो समयसम्म लक हुने

एन्ड्रोइड १७ मा अझ बलियो हुँदै लक स्क्रिन सुरक्षा, गलत पिन धेरै पटक हाल्दा फोन लामो समयसम्म लक हुने

काठमाडौं । गुगलले आफ्नो एन्ड्रोइड १७ अपरेटिङ सिस्टममा लक स्क्रिन सुरक्षालाई अझ शक्तिशाली बनाउँदै पिन र पासवर्ड अनुमान गरेर गरिने आक्रमणको प्रभाव कम गर्ने तयारी गरेको छ । नयाँ अपडेटले गलत अनलक अटेम्प्टमा कडा सीमा तोक्नुका साथै वास्तविक प्रयोगकर्ताका लागि नयाँ सुरक्षा सुविधा पनि थपेको छ । यसका साथै, फोन लक भएपछि पुनः पहुँच प्राप्त गर्ने प्रक्रिया पनि सहज बनाइएको छ ।

यो सुविधा दैनिक प्रयोगमा कुनै असर नपर्ने गरी समर्थित एन्ड्रोइड डिभाइसहरूमा सुरक्षा स्तर बढाउन डिजाइन गरिएको हो । गुगलले लकआउट सम्बन्धी जानकारी देखाउने तरिका पनि परिवर्तन गरेको छ भने अकाउन्ट रिकभरी विकल्पहरूमा छिटो पहुँचको व्यवस्था गरेको छ ।

नयाँ पिन नियमसँगै कडा बन्यो सुरक्षा

गुगलका एन्ड्रोइड कम्युनिटी इन्गेजमेन्ट म्यानेजर मिशाल रहमानले एक्समा गरेको पोस्टमार्फत एन्ड्रोइड १७ मा गलत पिन वा पासवर्ड हाल्न पाइने सीमा घटाइएको जानकारी दिएका छन् । यसको अर्थ, यदि प्रयोगकर्ताले पटक पटक गलत पासवर्ड हाल्छ भने फोन पहिलेभन्दा धेरै समयका लागि लक हुनेछ ।

अब अपरेटिङ सिस्टमले पहिलो एक मिनेटमा ६ पटक, ६ मिनेटभित्र ७ पटक, २५ मिनेटभित्र ८ पटक, २४ घण्टाभित्र १२ पटक र पाँच वर्षको अवधिमा १९ पटकसम्म मात्र गलत अनुमान गर्न अनुमति दिनेछ । यसअघि एन्ड्रोइडका पुराना संस्करणहरूमा यही अवधिमा क्रमशः १०, २०, ५०, ११० र १,८०० पटकसम्म प्रयास गर्न सकिने व्यवस्था थियो ।

२० पटकपछि थप अनलक प्रयास बन्द

२० पटक गलत पिन वा पासवर्ड प्रविष्ट गरेपछि प्रणालीले थप कुनै पनि अनलक अटेम्प्ट स्वीकार गर्ने छैन । यसले सामान्य पासवर्ड प्रयोग गरेर पटक पटक अनुमान लगाउने गेसिङ अट्याकलाई निकै हदसम्म रोक्ने अपेक्षा गरिएको छ ।

एउटै गलत पिन पटक पटक हाल्दा छुट्टै गणना नहुने

गुगलले गल्तीवश एउटै गलत पिन वा पासवर्ड पटक पटक प्रविष्ट गर्ने प्रयोगकर्ताका लागि डुप्लिकेट गेस डिटेक्सन सुविधा पनि थपेको छ ।

यदि एउटै गलत क्रेडेन्सियल बारम्बार प्रविष्ट गरियो भने त्यसलाई प्रत्येक पटक छुट्टै असफल प्रयासका रूपमा गणना गरिने छैन । यसको सट्टा, प्रणालीले डुप्लिकेट प्रविष्टि पहिचान गरेर किन त्यसलाई गणनामा समावेश नगरिएको हो भन्ने जानकारी स्क्रिनमै देखाउनेछ ।

लकआउट टाइमर पनि अब बुझ्न सजिलो

एन्ड्रोइड १७ ले लकआउट टाइमर देखाउने तरिका पनि परिवर्तन गरेको छ । अब बाँकी समय सेकेन्डमा देखाइने छैन । यसको सट्टा लक स्क्रिनमा मिनेट वा अन्य समय एकाइमा बुझ्न सजिलो सन्देश देखाइनेछ ।

उदाहरणका लागि, १,८०० सेकेन्डको काउन्टडाउन देखाउनुको सट्टा अब ‘३० मिनेटपछि पुनः प्रयास गर्नुहोस्’ भन्ने सन्देश देखिनेछ ।

लक स्क्रिनमै अकाउन्ट रिकभरी सर्टकट

यससँगै गुगलले लक स्क्रिनमा रिकभरी सर्टकट पनि थपेको छ । यस लिङ्कमार्फत प्रयोगकर्ताले आफ्नो फोन अनलक गर्न नसकेको अवस्थामा अर्को डिभाइसबाट सीधै अकाउन्ट रिकभरी रिसोर्समा पहुँच गर्न सक्नेछन् ।

सुरक्षा र प्रयोगकर्ताको सहजतालाई प्राथमिकता

माउन्टेन भ्युस्थित टेक कम्पनी गुगलले मे महिनामा आयोजित द एन्ड्रोइड शो: आई/ओ एडिसन का क्रममा यी उन्नत लक स्क्रिन प्रोटेक्सन फिचरहरूको पहिलो पटक घोषणा गरेको थियो ।

यी सुविधा एन्ड्रोइड १६ क्युपिआर२ बाट सुरु भएका सुरक्षा सुधारहरूमा आधारित छन् र समर्थित डिभाइसहरूमा एन्ड्रोइड १७ मा पनि निरन्तर उपलब्ध रहनेछन् ।

यो अद्यावधिक पोलिसीको मुख्य उद्देश्य पिन र पासवर्ड गेसिङ अट्याकलाई अझ कठिन बनाउनु हो । साथै, वास्तविक प्रयोगकर्ताले गल्तीवश लकआउटमा परेमा पुनः पहुँच प्राप्त गर्न सहज बनाउने लक्ष्य पनि राखिएको छ ।