कीवर्डहरू -

एनआईसी एशिया बैंकका एटीएम र पीओएसमा अब नेपालपे कार्ड प्रयोग गर्न सकिने

एनआईसी एशिया बैंकका एटीएम र पीओएसमा अब नेपालपे कार्ड प्रयोग गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ सेवामा नयाँ सुविधा थप्दै नेपालपे कार्डमार्फत हुने भुक्तानी स्वीकार्ने सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकका एटीएम तथा पीओएस टर्मिनलमा नेपालपे कार्ड प्रयोग गरी सहज रूपमा कारोबार गर्न सकिने भएको छ ।

बैंकका अनुसार यो सेवा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) अन्तर्गत सञ्चालित नेपालपे कार्ड नेटवर्कसँग आबद्ध गरिएको हो । यसले नेपालपे कार्ड प्रयोगकर्तालाई देशभर बैंकका विभिन्न भुक्तानी माध्यममार्फत सुरक्षित र सहज कारोबार गर्ने सुविधा प्रदान गर्नेछ ।

बैंकले नेपालपे कार्डसँगै डिस्कभर नेटवर्कअन्तर्गतका रुपे कार्ड तथा अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि आफ्ना एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न मिल्ने व्यवस्था गरेको जनाएको छ । यसबाट स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै कार्डधनीलाई बैंकका सेवामा सहज पहुँच मिल्ने विश्वास गरिएको छ ।

नेपालपे कार्ड राष्ट्रिय भुक्तानी पूर्वाधारअन्तर्गत सञ्चालन हुने स्वदेशी कार्ड प्रणाली हो । डिस्कभर नेटवर्कसँगको सहकार्यका कारण यो कार्ड नेपालभित्र मात्र नभई विदेशका डिस्कभर नेटवर्कसँग आबद्ध एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिन्छ ।

बैंकले यो सेवाले नेपालमा डिजिटल भुक्तानीको दायरा विस्तार गर्नुका साथै राष्ट्रिय कार्ड प्रणालीको प्रयोग बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ । हाल नेपालपे कार्ड नेटवर्कमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले नेपालपे कार्डमार्फत भुक्तानी स्वीकार्ने सेवा सञ्चालनमा आएसँगै ग्राहकलाई अझ सहज, सुरक्षित र आधुनिक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।