कीवर्डहरू -

डिजिटल बैंकिङमा नयाँ मापदण्ड बनाउँदै सिद्धार्थ बैंक, विश्वस्तरीय सम्मान प्राप्त

डिजिटल बैंकिङमा नयाँ मापदण्ड बनाउँदै सिद्धार्थ बैंक, विश्वस्तरीय सम्मान प्राप्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ (Infosys Finacle Innovation Awards 2026) बाट सम्मानित भएको छ ।

बैंकले नवप्रवर्तनतर्फ उत्कृष्ट प्रदर्शन गर्दै “म्याक्सिमाइजिङ कस्टमर एंगेजमेन्ट-डिजिटल फर्स्ट बैंकिङ” विधामा गोल्ड अवार्ड प्राप्त गरेको हो । विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन र ग्राहक अनुभव अभिवृद्धिको क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कनका आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

यस अन्तर्राष्ट्रिय सम्मानले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ प्रतिको निरन्तर प्रतिबद्धता र ग्राहक केन्द्रित सेवालाई प्रमाणित गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाहरूको विस्तार गर्दै आएको छ ।

मोबाइल बैंकिङ्ग, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड र डिजिटल खाता सञ्चालन लगायतका नवप्रवर्तनात्मक सेवामार्फत ग्राहकहरूलाई छिटो, सरल र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई यस अवार्डले थप ऊर्जा प्रदान गरेको बैंकले जनाएको छ । डिजिटल रूपान्तरणमार्फत ग्राहकलाई उत्कृष्ट अनुभव दिन बैंकले चालेका कदमहरूलाई नै यो पुरस्कारको मुख्य हकदार मानिएको छ ।

सिद्धार्थ बैंकले आगामी दिनहरूमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहने विश्वास लिएको छ ।

यस अन्तर्राष्ट्रिय उपाधिले ग्राहकहरूप्रतिको जिम्मेवारीलाई थप मजबूत बनाउनुका साथै भविष्यमा अझ परिष्कृत र व्यवस्थित ढङ्गले डिजिटल बैंकिङ सेवा प्रदान गर्न बैंकलाई प्रेरित गरेको छ ।